सत्ता गठबन्धनले गरे राष्ट्रिय सभा सदस्यमा भागबन्डा

काठमाडौँ : राष्ट्रिय सभामा रिक्त सदस्य पदका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता सुरु हुँदै छ। निर्वाचन आयोगले माघ १२ गते चुनाव हुने तालिका सार्वजनिक गरेको छ। सत्ता गठबन्धन दलहरूले उम्मेदवारी दर्ताको अघिल्लो दिन सदस्य पदमा भागबन्डा गरेका छन्।
जुन पार्टीको रिक्त हुन लागेको उसले त्यही सङ्ख्या पाउने र थप हुने ८ सङ्ख्यामा सत्ता गठबन्धन दलले भागबन्डा गरेका छन्। नेकपा एमालेले यसअघि पाएको सङ्ख्या गुमाउने भन्दै गठबन्धन दलले भागबन्डा गरेका हुन्।
भागबन्डामा राष्ट्रिय जनमोर्चाले एक सिट लिने सहमति भएको छ। नेपाली कांग्रेसले ३, जनता समाजवादी पार्टीले २, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक/एक सिटमा उम्मेदवारी दिने सहमति भएको जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन।
एक सिट पाउने सहमति अनुसार जनमोर्चाका उम्मेदवार विजयी भए राष्ट्रिय सभामा जनमोर्चाको पनि प्रतिनिधित्व हुनेछ। जनमोर्चाको प्रतिनिधिसभामा मात्रै एक जनाको प्रतिनिधित्व छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकमा राष्ट्रिय सभा सदस्यको भागबन्डा मात्रै छलफलको एजेन्डा थियो। राष्ट्रिय सभा निर्वाचित सदस्यको ४ असार २०७५ मा गोला प्रथाबाट कार्यकाल तोकिएको थियो।
जसमा २० जना सांसदको कार्यकाल चार वर्ष निर्धारण भएको थियो। उनीहरूको कार्यकाल २० फागुनसम्म मात्रै छ।
लुम्बिनी प्रदेशका दावेदार
लुम्बिनी प्रदेशबाट रिक्त हुने तीन सदस्य पदमा एमालेले गुल्मीका कृष्ण सुनार, दाङका राम दमाल गुप्ता र नेपालगन्जकी भारती खनालको नाम सिफारिस गरेको एमाले लुम्बिनी प्रदेश उपाध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिए।
लुम्बिनीमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ जनाले उम्मेदवारी दिनेछन्। निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले मंगलबार बिहान १० देखि ३ बजेसम्म जिल्ला अदालत दाङको परिसरमा मनोनयन दर्ता हुने बताए।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका अध्यक्ष अमरसिंह पुनले संसदीय दलको बैठकले उम्मेदवारको नाम टुङ्गो लगाउने बताए। लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ८१ र २१५ जना नगरपालिकाका मेयर उपमेयर तथा गाउँपालिकाका अध्यक्ष उपाध्यक्षले मतदान गर्नेछन्।
पुष १९, २०७८ सोमबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।