‘तिलोत्तमा व्यापार महोत्सव’ माघ १३ देखि

‘तिलोत्तमा व्यापार महोत्सव’  माघ १३ देखि

बुटवलः आगामी माघ १३ गतेदेखि तिलोत्तमामा ‘तिलोत्तमा व्यापार महोत्सव’ हुने भएको छ। ‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगार सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’ भन्ने मूल नाराका साथ महोत्सव हुने भएको हो।

संघले सोमबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारीको बारेमा जानकारी दिएको हो। तिलोत्तमा चेम्बर अफ कमर्श, रूपन्देहीले माघ १३ देखि २४ गतेसम्म ‘औद्योगिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव’ गर्न लागेको हो।

तिलोत्तमा–५ मणिग्राममा चेम्बर अफ कमर्शले दोस्रो पटक महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुलाल भुसालले बताए। तिलोत्तमालाई राष्ट्रिय व्यापारिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ संघले महोत्सव आयोजना गरेको उनले बताए।

महोत्सवमा १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार र दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएका छन्।

महोत्सवमा राष्ट्रिय उत्पादन तथा सेवाहरूको प्रदर्शन, व्यावसायिक स्टलहरू, आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने साथै कृषिजन्य उत्पादनको बजार प्रवर्द्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरूको पहिचान गरी विकासमा सहयोग पुर्याउने लक्ष्य रहेको उनले जानकारी गराए।

देश–विदेशका व्यवसायीहरूसँग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ताबीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने तथा कृषि पेशालाई व्यावसायिक रूपमा अघि बढाउने लक्ष्य लिइएको नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेशका महासचिव जेपी कँडेलले बताए।

पुष १९, २०७८ सोमबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।