कैलालीमा स्करपियो दुर्घटना ,पशुपति दर्शन गर्न हिँडेका भारतीय यात्रु घाइते

धनगढी : कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडामा स्करपियो दुर्घटना हुँदा भारतीय यात्रुसहित ६ जना घाइते भएका छन्। भारतीय नम्बर प्लेटको स्करपियोले अटो रिक्सालाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुवै सवारीसाधनमा रहेका ३/३ गरी ६ जना घाइते भएको प्रहरीले जनाएको छ। स्करपियोमा सवार यात्रु भारतको नैनितालबाट पशुपतिनाथको दर्शन गर्न काठमाडौँ गइरहेका थिए। इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी नवराज पोखरेलका अनुसार महेन्द्रनगरबाट पूर्वतर्फ गइरहेको भारतीय युके ०४ एजी ९५७८ नम्बर प्लेटको स्करपियोले से १ ह १९७० नम्बरको अटोलाई ठक्कर दिएको थियो।
‘स्करपियोले अटोलाई ठक्कर दिँदा ब्यालेन्स नभएर बिजुलीको पोलमा गएर ठोक्किएको देखिएको छ,’ उनले भने, ‘घाइतेहरूको अवस्था सामान्य छ।’
दुर्घटनामा अटो चालक ३३ वर्षीय भवानी महरा, २९ वर्षीय निर्मला सिंह, बझाङको बुगंल नगरपालिका–४ बस्ने ४८ वर्षीय दुर्गा नाथ घाइते भएका छन् स्करपियोमा सवार १२ वर्षीय विष्णुमणि जोशी, ४२ वर्षीय मनोज पन्त र स्करपियो चालक मनोजकी ९ बर्सिया छोरी सिद्धी जोशी पनि घाइते भएकी छन्। डिएसपी पोखरेलले स्करपियोमा सवार यात्रु भारतको नैनितालबाट काठमाडौँस्थित पशुपतिनाथ दर्शनका लागि हिँडेको अवस्थामा दुर्घटना भएको जानकारी दिए।
पुष १८, २०७८ आइतबार १९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।