रेडक्रसको राजनीतिमा मन्त्री रेग्मीको 'इन्ट्री' : किर्ते कर्मचारीको छानबिन गर्न खोज्दा अध्यक्ष हटाइए

काठमाडौँ : नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा नेपाल रेडक्रस सोसाइटीमा नियुक्ति लिएको शङ्कामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानको दायरामा रहेका कर्मचारीको दबाबमा डा नेत्र प्रसाद तिम्सिना अध्यक्षबाट हटाइएको छ।
२०७७ साउन १२ मा बसेको मन्त्रीपरिषद्को बैठकले डा नेत्र तिम्सिनाको नेतृत्वमा ३३ सदस्यीय समिति गठन गरेको थियो। नयाँ तदर्थ समितिको जिम्मेवारी सुदर्शन प्रसाद नेपालले पाएका छन्।
सोसाइटीमा आर्थिक गतिविधि विवादमा आएपछि सरकारले पुरानो कार्यसमिति भङ्ग गरेर तिम्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो। सोसाइटीका २५ कर्मचारी शैक्षिक योग्यता फर्जी भएको भन्दै सिआइबीको अनुसन्धानमा परेपछि उनीहरू आन्दोलित भएका थिए।
कर्मचारीको आन्दोलन र तोकिएको अवधिमा निर्वाचन गर्न नसकेको भन्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा बुधवारको मन्त्रिपरिषद् बैठकले नयाँ केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।
नयाँ तदर्थ समितिलाई तीन महिना भित्र अधिवेशन सम्पन्न गर्ने म्यान्डेट छ। मन्त्री रेग्मीले आइतबार नयाँ समितिलाई निर्देशन दिँदै तीन महिनाभित्र अधिवेशन सम्पन्न गर्न भनेकी थिइन्।
नक्कली शैक्षिक प्रमाण-पत्रबारे अनुसन्धान सुरु भएपछि रेडक्रसका कर्मचारी आन्दोलनमा , प्रशासन रमिते
अघिल्लो सरकारले रेडक्रसलाई छिन्न भिन्न बनाउने काम गरेको भन्दै उनले तदर्थ समितिले कानुन विपरीत काम गर्दा रेडक्रसका कर्मचारी आन्दोलन बनेको दाबी गरेकी थिइन्।
उनले तदर्थ समितिलाई तत्काल रेडक्रसमा भइरहेको कर्मचारीको आन्दोलन रोक्न र कर्मचारीको सुरक्षा गर्न समेत निर्देशन दिएकी थिइन्। मन्त्री रेग्मीको निर्देशनपछि नियुक्ति पत्र बुझेर रेडक्रसमा पुगेको तदर्थ समितिले कर्मचारीको आन्दोलन स्थगित गराएको थियो।
पुष १८, २०७८ आइतबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।