गोर्खाज फाइनान्सको शेयर मूल्यमा नाटकीय उतार-चढाव, हिमालयन डिस्टिलरीको मूल्यमा उच्च वृद्धि

काठमाडौँ : साताको पहिलो दिन आइतबार शेयर बजार ६०.४१ अङ्कले बढेको छ। आइतबार ठुला कम्पनीको शेयर मापक गर्ने सेन्सेटिभ इन्डेक्स २.२९ प्रतिशत, फ्लोर इन्डेक्स २.३९ प्रतिशत र सेन्सेटिभ फ्लोर इन्डेक्स २.४६ प्रतिशत बढेको छ।
आइतबार २ सय ४० कम्पनीको सेयर कारोबार भएको थियो। ७१ लाख ६० हजार ९ सय ८३ कित्ता शेयर कारोबार हुँदा ४ अर्ब १२ करोड ६९ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भयो। गत बुधवार ३ अर्ब ६२ करोडको कारोबार भएको थियो।
आइतबार शेयर बजार ६०.४१ अङ्कले बढ्दा १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको बाहेकका सबै उपसमूहका परिसूचकहरू बढे। यसमा उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै ५.०८ प्रतिशतले बढेको छ।
निर्जीवन बिमा उपसमूहको परिसूचक ३.५४ प्रतिशत, विकास बैङ्कको ३.४२ प्रतिशत लगानी २.१७ प्रतिशत, जीवन बिमा २.४२ प्रतिशत, लघुवित्त २.८८ प्रतिशत र अन्य उपसमूहको परिसूचक २.३ प्रतिशत, बैङ्किङ १.९९ प्रतिशत, होटेल तथा पर्यटन १.४ प्रतिशत र जलविद्युत उपसमूहको परिसूचक १.७ प्रतिशतले बढेको छ।
आइतबारको कारोबारमा हिमालयन डिस्टिलरीको शेयर मूल्य सबै भन्दा धेरै ९.९९ प्रतिशत बढेको छ। त्यसपछि मध्य भोटेकोसीको शेयर मूल्य ९.९७ प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको ९.२९ प्रतिशत बढेको छ।
कारोबार रकमका आधारमा हिमालयन डिष्ट्रिलरीको ४४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएर पहिलो शीर्ष स्थानमा रह्यो भने २९ करोड ७० लाख रुपैयाँको कारोबार गरेर नबिल बैङ्क दोस्रो स्थानमा रह्यो। शेयर मूल्यका नाटकिय उतारचढाव भइरहेको गोर्खाज फाइनान्सको शेयर मूल्य सर्वाधिक ५.१२ प्रतिशतले घटेको छ।
पुष १८, २०७८ आइतबार १७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।