निमित्त प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जुवाडे पक्राउ

निमित्त प्रशासकीय अधिकृत र वडाध्यक्षसहित १४ जुवाडे पक्राउ

सुर्खेत : जुवा खेलिरहेको अवस्थामा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती र वडा नम्बर ४ का वडा अध्यक्षसहित १४ जनालाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ।

आइतबार बिहान साढे तीन बजे जाजरकोट सदरमुकाम नजिकै गैरीखालीस्थित सन्तोष श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले जानकारी दिए।

जुवा खालबाट वडा नम्बर ४ का वडाध्यक्ष एवं नेपाली कांग्रेस भेरी नगरपालिका सभापति समेत रहेका शशि बुढा पनि पक्राउ परेका छन्।

‘जुवा खेलिरहेको अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत र वडा अध्यक्षसहित १४ जनालाई नियन्त्रणमा लिएका छौं,’ प्रमुख थापाले भने, ‘उनीहरूको साथबाट २ लाख ५२ हजार नगद पनि बरामद गरिएको छ। पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।’

प्रमुख थापाका अनुसार भेरी- ४ का वडा सचिव प्रचण्डजंग शाह, रुकुम पश्चिमको चौरजहारी नगरपालिका- ६ का विकास विक, छेडागाड नगरपालिका १३ का कर्ण खड्का, छेडागाड ५ का प्रकाशमान सिंह, भेरी नगरपालिका- ८ का जीवन खत्री, वडा नम्बर ४ का सन्तोष श्रेष्ठ, निराजन भडेल, विकास विसी, बालकृष्ण बुढाथोकी जुवाखालबाट पक्राउ परेका हुन्।

पुष १८, २०७८ आइतबार १६:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।