चुनावमा नजाने गरी प्रचण्डको गृहकार्य, निर्वाचन तालिका सारेको सार्यै

चुनावमा नजाने गरी प्रचण्डको गृहकार्य, निर्वाचन तालिका सारेको सार्यै

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन गरिएको छ। पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले एक सूचना जारी गर्दै तालिका संशोधन गरिएको बताएका हुन्। 

सहमतिको प्रयासका लागि भन्दै माओवादीले हिजैदेखि सुरु हुनुपर्ने निर्वाचन तालिका संशोधन गरेको हो। तेस्रो पटक सार्वजनिक भएको निर्वाचन तालिकाअनुसार अब उम्मेदवारहरूको मनोनयन दर्ता आज साँझ ४ बजेदेखि ६ बजेसम्म रहनेछ। साढे ६ बजे मनोनयन दर्ताको सूची प्रकाशन गरिनेछ। 

यस्तै उम्मेदवारको विरोधमा उजुरी दिन ७ बजेसम्मको समय दिइएको छ। उजुरीउपर छानबिन र निर्णय ७:४५ सम्म हुनेछ। नाम फिर्ता गर्न साढे ८ बजेसम्मको समय दिइएको छ। यस्तै उम्मेदवारहरूको अन्तिम नामावली ८:४५ मा प्रकाशन हुनेछ। 

संशोधित तालिकाअनुसार अब भोलिबाट मात्र मतदान प्रक्रिया सुरु हुनेछ। भोलि बिहान ८ बजेदेखि साढे १ बजेसम्म मतदान गरिने तालिका रहेको छ। 

यस्तै मतदान सम्पन्न भएको १ घण्टापछि मतगणना थालिनेछ। 

पार्टीका निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सकभर चुनावमा नजाने गरी गृहकार्य गरिरहेका छन्। उनले सहमतिकै आधारमा केन्द्रीय कमिटी चयन गर्ने भनेपछि निर्वाचन तालिका सरेको सरेकै छ। 

यता महाधिवेशन भनिसकिएकाले पदाधिकारीसहित सम्पूर्ण टीम घोषणा गर्नुपर्ने दबावमा प्रचण्ड छन्। उनले बिहानै १४ जना स्थायी कमिटी सदस्यसँग वान टू वान वार्ता समेत गरेका थिए।

प्रचण्डनिकट एक नेताका अनुसार महासचिव पदमा वर्षमान पुन र जनार्दन शर्माबीच सहमति गराउने तयारी छ। तेस्रो व्यक्ति ल्याउन सक्ने सम्भावना कम रहेको नेताहरूले बताएका छन्।

प्रचण्डको घोषणा मान्नुको विकल्प नरहेको उनीनिकट नेताहरूको दावी छ।

पुष १८, २०७८ आइतबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।