राष्ट्रिय वनबाट चोरी गरिएको ९ थान सालको गोलिया बरामद

पर्साः राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ९ थान सालको गोलिया बरामद गरिएको छ। सबडिभिजन वन कार्यालय सबैयाको टोलीले उक्त परिमाणको सालको गोलिया बरामद गरेको हो।
वन कार्यालयको टोलीले नौ वटा साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको वन अधिकृत फरमान मियाँले जानकारी दिए।
प्रहरी देखेपछि साइकल र काठ छाडेर तस्कर फरार भएको र यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको पनि उनले बताए।
यस्तै ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले ६४.११ क्युफिट सालको काठ बरामद गरेको छ। प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्त्वको टोलीले वीरगञ्ज महानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो।
सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।
पुष १८, २०७८ आइतबार १०:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।