माओवादीको महाधिवेशनका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनका लागि आजको प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले दिउँसो १ बजेका लागि बोलाएको संसद् बैठक स्थगित गरिएको हो।
संसद् सचिवालयका अनुसार माओवादी केन्द्रले महाधिवेशन भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि आज बैठक नबस्ने भएको हो। यसबारे केही बेरमा सचिवालयले सूचना जारी गर्ने बताइएको छ।
आज संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष ०७७-०७८ को थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको थियो।
यस्तै माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुनेछ। यद्यपि सहमतिमै केन्द्रीय कमिटी चयन गर्ने भन्दै तयारी समेत थालिएको छ।
यता आजै सभामुख सापकोटाले बोलाएको बिहान ११:३० मा बस्ने भनिएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ।
पुष १८, २०७८ आइतबार ०९:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।