तीन तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव 

तीन तहको निर्वाचन लगत्तै विशेष महाधिवेशन गर्ने प्रचण्डको प्रस्ताव 

महाधिवेशनको बन्द सत्रमा जवाफ दिँदै प्रचण्डले आयोजक तथा प्रतिनिधिबाट प्राप्त सुझाव समावेश गरी दस्ताबेज आवश्यक परिमार्जन गर्ने प्रतिबद्धता जनाएका हुन्। 

उनले दस्ताबेज पारित गरिदिन आग्रह गरेपछि महाधिवेशनको सिङ्गो हलले पारित गरेको महाधिवेशनको प्रचार तथा प्रकाशन उपसमितिले प्रेस नोट जारी गरेको छ।

प्रचण्डले  ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्ताबेज पेस गरेका थिए। 

प्रचण्डको प्रतिवेदनमा स्थायी कमिटी सदस्य राम कार्कीले पूरक प्रस्ताव र केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले भिन्न मत राखेका थिए।

जवाफ दिँदै प्रचण्डले कार्कीको पूरक प्रस्तावलाई स्वीकार गरेर दस्ताबेजमा समावेश गर्ने र न्यौपानेको फरक मतलाई भिन्न मतकै रूपमा स्वीकारेको बताए। 

तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव प्रचण्डले राखेका छन्।

दस्ताबेजले पार्टीको क्रान्तिकारी विचार निर्माण प्रक्रिया सुरु गरेको, पार्टीलाई क्रान्तिकारी दिशामा लगेको र विचार संश्लेषणका लागि महान् बहसको थालनी गरेको प्रचण्डले निष्कर्ष सुनाए। 

बन्द सत्रमा पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ, केन्द्रीय अनुशासन आयोगका प्रमुख टङ्क राई र केन्द्रीय लेखा आयोगका प्रमुख पेशल खतिवडाले आयोगका प्रतिवेदन  प्रस्तुत गरेका छन्।

बन्द सत्र भोलि शनिबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ। 

शनिबार विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले जवाफ दिने प्रचार प्रसार उपसमितिले जानकारी दिएको छ।

पुष १६, २०७८ शुक्रबार १८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।