एमसीसी देश र जनताको लागि हो: गृहमन्त्री खाँण

एमसीसी देश र जनताको लागि हो: गृहमन्त्री खाँण

कास्कीः गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी देश र जनताको लागि भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले एमसीसीबारे राष्ट्रिय सहमतिको प्रयत्न गर्ने बताएका हुन्। 

उनले भने, “एमसीसी देश र जनताका लागि हो, राष्ट्रिय सहमतिको प्रयत्न गर्दै सबैले मिलेर यसलाई अघि बढाउँछौँ। सहमतिका आधारमा नेपालमा धेरै कुरा भएका छन्। यसमा पनि सहमति हुन्छ।”

सबै राजनीतिक दलहरूको सहमतिमै एमसीसी अगाडि बढाइने उनले बताए। उनले नेपाल सरकारले नै एमसीसीको प्रस्ताव जलविद्युत् र सडक पूर्वाधारका लागि गरेको बताउँदै यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए। 

यस्तै उनले कार्यक्रममा आफ्नो धारणा राख्दै नेपालको राज्य प्रणाली स्वतन्त्र पत्रकारिताका पक्षमा रहेको बताएका छन्। पत्रकारिता र लोकतन्त्र एक सिक्काका दुई पाटा रहेको बताउँदै उनले नयाँ बन्ने वा संशोधन हुने कानून स्वतन्त्र पत्रकारिताका पक्षमा हुनुपर्नेमा जोड दिएका छन्।

यस्तै स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन समयमै सम्पन्न हुने उनको भनाइ थियो।

पुष १६, २०७८ शुक्रबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।