प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन प्रधानमन्त्री देउवाले छलफल गर्ने 

प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन प्रधानमन्त्री देउवाले छलफल गर्ने 

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न मन्त्रीलाई निर्देशन दिने प्रतिबद्धता जनाएका छन्।

डा. गोविन्द केसीका सात बुँदे माग सम्बोधन गर्ने सम्बन्धमा सम्बन्धित मन्त्रीलाई निर्देशन दिने देउवाले प्रतिबद्धता जनाएका केसीले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।  

प्रधानमन्त्री देउवासँगको भेटपछि विज्ञप्ति निकालेर केसीले चोलेन्द्र शमशेर प्रकरणलाई संशोधन गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सहयोग गर्ने र महाअभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त भएको उल्लेख गरेका छन्। 

केसीका अनुसार निर्मला कुर्मी हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई जिम्मा दिन, आन्दोलनकारीसँग संवाद गरी सहमति गर्न तथा निजहरूलाई घर फर्किने वातावरण बनाउन गृह मन्त्रीलाई तत्काल निर्देशन दिने प्रतिबद्धता देउवाले जनाएका छन्। 

निजी मेडिकल कलेजलाई विद्यार्थीबाट अवैध रूपमा अतिरिक्त शुल्क लिन नदिने र त्यसो गर्ने कलेज सञ्चालकलाई कानुनको दायरामा ल्याउने, स्वार्थको द्वन्द्व हटाउने सम्बन्धी कानुन मस्यौदा गर्ने कार्यलाई तीव्रता दिन कानुन मन्त्रालयलाई निर्देशन दिने प्रतिबद्धता देउवाले जनाएको केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ। 

यस्तै विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तीव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न निर्माण सम्पन्न भएका कलेजको हकमा पठाई सुरु गर्ने र निर्माण सम्पन्न नभएको हकमा निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता पनि देउवाले केसीसँग जनाएका छन्। 

पुष १५, २०७८ बिहीबार २१:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।