कुमारी बैङ्कको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की, तत्काल जोखिम नदेखिएको राष्ट्र बैङ्कको भनाई

कुमारी बैङ्कको सिस्टम ह्याक गर्ने ह्याकरको धम्की, तत्काल जोखिम नदेखिएको राष्ट्र बैङ्कको भनाई

काठमाडौँ : कुमारी बैङ्कको सिस्टम ह्याक गरेर पैसा लैजाने भन्दै धम्कीपूर्ण इमेल आएको छ। बैङ्कको इमेलमा सिस्टम ह्याक गर्ने धम्की आएपछि बैङ्कले क्षति हुनबाट जोगिन सिस्टमै डाउन गरेको थियो।

बुधवार आएको धम्कीबारे बैङ्कले साइवर अनुसन्धान ब्युरो र नेपाल राष्ट्र बैङ्कमा पनि जानकारी गराएको छ। स्रोतका अनुसार बैङ्कलाई साउदी ग्रुप नामक इमेलबाट बुधवार धम्की आएको थियो। यस अगाडि पनि अन्य बैङ्कमा यस्तै धम्की आए पनि अनुसन्धानमा त्यति गम्भीर देखिएको थिएन।

धम्की दिनेहरू कुन तहका हुन् भन्ने एकिन नभएकाले क्षति हुनु अगाडि नै बैङ्कले मोबाइल, इन्टरनेट, एटिएम सिस्टम डाउन गरेको हो। धम्कीपूर्ण इमेल आएकोबारे बैङ्क प्रशासनले नेपाल राष्ट्र बैङ्कलाई जानकारी गराएको थियो।

नेपाल राष्ट्र बैङ्कका प्रवक्ता गुणाकर भट्टले इमेलबाट सिस्टम ह्याक गर्ने धम्की आएकोबारे बैङ्कबाट जानकारी आएको र राष्ट्र बैङ्कले परीक्षण गर्दा सिस्टममा त्यस्तो केही गडबड नदेखिएको बताए।

भट्टका अनुसार राष्ट्र बैङ्कले साइबर सुरक्षा सम्बन्धी गाइडलाइन बनाएर बैङ्किङ सिस्टम सुरक्षित राख्नु पहिल्यै निर्देशन दिइसकेको छ। बैङ्कबाट आएको जानकारीका आधारमा परीक्षण गर्दा तत्काल सुरक्षा जोखिम नदेखिएको उनले उकेरालाई बताए।

साउनमा कुमारीलाई जस्तै अन्य १६ वटा बैङ्कलाई एकै पटक सिस्टम ह्याक गर्ने चेतावनीपूर्ण इमेल आएको थियो।

सन्देशमा नेपाल राष्ट्र बैङ्कसहित कुमारी , नेपाल बैङ्क, नबिल बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क र माछापुच्छ्रे बैङ्क एनएमबी बैङ्क, एनआईसी एसिया बैङ्क, बैङ्क अफ काठमान्डु, सिटिजन्स् बैङ्क, सानिमा बैङ्क, एसबीआई बैङ्क, एभरेस्ट बैङ्क, नेपाल इन्भेस्टमेन्ट बैङ्क र हिमालयन बैङ्कको को सिस्टम ह्याक भएको दाबी गरिए पनि ह्याक भने भएको थिएन।

पुष १५, २०७८ बिहीबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।