लेखनाथले प्रचण्डलाई भने, माओवादीमा अर्को रूपको ‘बा’ प्रवृत्ति देखियो

काठमाडौँ : नेकपा माओवादीका नेता लेखनाथ न्यौपानेले प्रचण्डभित्र विकास भइरहेको व्यक्तिवादी अराजकता र संसद्वादी रुझानका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन्। उनले माओवादी भित्र पनि एमालेमा जस्तै अर्को रूपको ‘बा’ प्रवृत्ति देखिएको आरोप पनि लगाएका छन्।
‘हामीले ओलीभित्रको ‘बा’ प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रूपको ‘बा’ प्रवृत्ति देखिएको छ’न्यौपानेले प्रश्न गरे,‘तपाई आफै सशरीर उपस्थित भएको ठाउँमा तपाईँका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो?’
माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा फरक मत राख्दै न्यौपानेले जनताको क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्ने र समाजलाई बदल्ने भन्ने कुरा ढाँट कुरा र ‘दिन काट्ने र काल पर्खने’ काम सिवाय केही नहुने निष्कर्ष पनि सुनाएका छन्।
उनले स्थानीय सरकार जितेको ठाउँमा एउटा नमुना पालिका सरकार देखाउन प्रचण्डलाई चुनौती नै दिएका छन्। उनले यसको निर्मम समीक्षा नगरी सरकारदेखि सरकारसम्मको गोलचक्करले माओवादीलाई बदनाम मात्र बनाउने फरक मतमा उल्लेख गरेका छन्।
न्यौपानेले आन्दोलनको अख्तियारी दुरुपयोग गरेर सम्पत्ति थोपर्ने नेताहरूलाई पार्टीबाट कारबाही गर्ने आँट गर्न पनि प्रचण्डलाई अर्को चुनौती दिएका छन्। ‘विना पसिना, उत्पादनसँगको विना सहकार्य दैनिक लाखौँ गरिने हाम्रा नेता–कार्यकताहरुको खर्चको स्रोत के हो?’उनले भने,‘हामीमाथि विरोधीले आक्रमण गर्ने हतियार यही हो।’
प्रचण्डको प्रतिवेदनले भित्री र बाहिरी समस्याको हल दिन नसक्ने प्रतिवेदनले महाधिवेशनको गरिमा र ओज बोक्न नसक्ने उनको फरक मत छ।
न्यौपानेले ‘२१ औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रचण्डको प्रतिवेदन माथिमाथि उडेको तर जमिनमा खुट्टा टेक्न नसकेको उल्लेख गरेका छन्।
‘यो प्रतिवेदन माथिमाथि उडान गरेको तर जमिनमा खुट्टा टेकेको छैन’,न्यौपानेले फरक मत राख्ने भनेका छन्,‘जमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुवीचको सम्बन्ध र सङ्घर्ष, उत्पादन प्रणाली, उत्पादनका साधनमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेषण हुनुपर्छ।’
न्यौपानेले ‘समाजवादको नेपाली बाटो’लाई सही सिद्ध गर्न सकिने प्रतिवेदनमा नभएको उल्लेख गरे। दक्षिणपन्थी संशोधनवादीदिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ? भनेर उनले प्रश्न गरेका छन्।
‘नेतृत्वको जीवनशैली, व्यक्तिगत आचरण र दिनचर्या सामन्ती र वुर्जवाहरुको भन्दा खासै फरक नपाइने उनले उल्लेख गरेका छन्।
‘अझ कतिपय अर्थमा त त्यो जस्तो कि भन्ने गरिन्छ ‘बुर्जुवा मानवतावादी’ को भन्दा पनि तल रहने गरेको छ’न्यौपानेले फरक मत राख्ने भने,‘ बोलीको ठेगाना नहुने, निम्न स्तरको झुटो बोल्ने, आर्थिक हिनामिना गर्ने, भ्रष्ट यौन आचरण प्रदर्शन गर्ने, आफ्ना निम्ति विशेष सुविधाको माग गर्ने, सङ्गठनमा जालझेल र षड्यन्त्र गरेर नेता बनिरहने, तानासाही र उदारवादी बन्ने, सङ्गठनलाई आफ्नो व्यक्तिगत पेवा वा सम्पत्ति सम्झने, बाहिर सर्वहारा आदर्शको कुरा गर्ने, भित्र लुकिछिपी जस्तोसुकै भ्रष्ट काम पनि गर्न पछि नपर्ने जस्ता नितान्त सामन्ती र बुर्जुवा नैतिकता हाम्रो आन्दोलनको नेतृत्वमा छरपस्टै देखा पर्ने गरेका छन्।’
पुष १५, २०७८ बिहीबार १६:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।