भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु

बाँकेः भेरी अस्पताल नेपालगञ्जको कर्मचारी आवासमा गृह (क्वाटर)मा एकै परिवारका चार जनाको मृत्यु भएको छ। एउटै कोठामा सुतेका उनीहरू बिहान करिब ६ बजेतिर मृतअवस्थामा फेला परेका हुन्।
अस्पतालको स्टोर शाखामा कार्यरत खाँडाचक्र नगरपालिका–६ कालीकोटका धनप्रसाद भट्टराई र उनका परिवारको मृत्यु भएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। मृत्यु हुनेमा धनप्रसादसहित उनकी बहिनी अन्दाजी २२ वर्षीया कोली, तीन महिनाका छोरा इप्सन भट्टराई र सासू अन्दाजी ५५ वर्षीया कोपिला छन्।
चिसोमा कोइला बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। एउटै कोठामा सुतेका चार जनाको मृत्यु भए पनि अन्य तीन जना अचेत अवस्थामा फेला परेका थिए। उनीहरू हाल भेरी अस्पतालमा उपचाररत छन्। तीमध्ये एक जनाको होस खुलेको छ।
घटनाको जानकारी पाउनासाथ प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी उपरीक्षक अधिकारीको टोली घटनास्थल पुगेको थियो। मृतकको शव परीक्षणका लागि पठाइएको छ।
पुष १५, २०७८ बिहीबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।