सिभिल ठगीमा इच्छाराज र केशवलाल कारागार चलान

काठमाडौँ : बचतकर्ताको रकम दुरुपयोगको आरोप लागेका सिभिल ग्रुपका अध्यक्ष तथा एमालेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान भएका छन्।
अदालतमा उनीहरूविरुद्ध ५ अर्ब ७७ करोड ८० लाख ९० हजार ९ सय २ रुपैयाँ बिगोसहित ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता भएको हो।
जिल्ला अदालत काठमाडौँले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि जेल चलान भएका छन्।
न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र श्रेष्ठलाई थुनामा राख्न आदेश दियो भने पक्राउ परेका मध्ये ९ जना धरौटीमा र १ जना साधारण तारेखमा रिहा भएका छन्।
प्रतिवादी हरिहर लामिछानेसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। विजयविक्रम शाहीसँग १५ लाख, भगवान् डङ्गोलसँग १० लाख धरौटी माग गरेको छ।
प्रतिवादीहरू बुद्धराज तामाङसँग ५ लाख, कस्तुभ केतन ढुङ्गानासँग ५ लाख, एलिना तुलाधरसँग ५ लाख र मायानानी महर्जनसँग ५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
अदालतले शेखरप्रसाद पाठकसँग दुई लाख ५० हजार र राकेश महर्जनसँग ५० हजार रुपैयाँ धरौटी माग गरेको छ।
अदालतमा दर्ता भएको अभियोग पत्रमा तामाङविरुद्ध ठगी मुद्दामा पाँच वर्ष कैद, बिगो बराबरको जरिवाना र ठगिएको रकम तिर्न माग गरिएको छ।
तामाङसहित गत असोज १८ गते ठगी आरोपमा १२ जना पक्राउ गरेको थियो। अन्य ३० जना फरार छन्।
पुष १४, २०७८ बुधबार २२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।