एमसीसी अस्वीकार गर्न प्रचण्डलाई दबाब  

एमसीसी अस्वीकार गर्न प्रचण्डलाई दबाब  

काठमाडौँ : नेकपा माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा समूहगत छलफलबाट आएका निष्कर्ष एवं सुझाव प्रस्तुत गर्ने क्रम सुरु भएको छ।

कमलादीस्थित प्रज्ञा भवनमा सुरु बन्द सत्रमा राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमा समूहका टोली नेताले निष्कर्ष एवं सुझाव प्रस्तुत गर्ने क्रम सुरु भएको हो। 

माओवादीको महाधिवेशनले प्रतिवेदनमाथि छलफल गरेर सुझाव पेस गर्न २५ वटा समूह बनाएको थियो। प्रत्येक समूहलाई सुझाव पेस गर्न १५ मिनेटको समय दिइएको माओवादीले जनाएको छ। 

प्रदेश १ समूह ४का गोम्बु शेर्पाले दस्ताबेज अग्रगामी क्रान्तिकारी रहेको भन्दै यसलाई अगाडि बढाउनु पर्ने सुझाव पेस गरेका छन्। उनले बिचारको उचाइको तुलनामा योजना र कार्यक्रम असाध्यै कमजोर आएको उल्लेख गरे। उनले भारतबारे प्रतिवेदन बोल्नु पर्ने बताए। 

एमसीसीबारे चीन नबोलेको भन्दै शेर्पाले चीनलाई सरोकार नभएको विषयमा किन बोल्ने भन्दै प्रश्न गरे। 

प्रदेश १ का सहइन्चार्ज पदम बहादुर राईले एमसीसी खारेज गर्नुपर्ने बताए। युद्धकालीन मुद्दाहरूको समस्या समाधान गर्न र घाइते अपाङ्गता भएकाहरूको पनि माग सम्बोधन गर्न उनले सुझाव दिए। 

पुष १४, २०७८ बुधबार १४:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।