भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा गरिने 

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा गरिने 

भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बुधबार बसेको बैठकले मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सरकारले १९९० माघ २ गतेको भूकम्पबाट भएको क्षति र सम्झनास्वरुप २०५५ देखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।

यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ।

सरकारी, गैरसरकारी सबैलाई जनचेतनामूलक कार्यक्रम गरेर भूकम्प सुरक्षा दिवस मनाउन आग्रह गर्ने निर्णय पनि समितिको बैठकले गरेको कोइरालाले जानकारी दिए।

मूल समारोह समितिको बैठकले ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तरीय र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय पनि गरिएको प्रवक्ता कोइरालाले बताए।

बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ। 

पुष १४, २०७८ बुधबार १२:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।