सर्लाहीमा बुधबार बेलुकी ७ बजेसम्म निषेधाज्ञा

आइतबार राति ईश्वरपुर–७ मा इलाका प्रहरी कार्यालय केशरगञ्जको गस्तीमा हिँडेको भ्यानले ना ४३ प ५०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा रामकुमार महतोको मृत्यु भएको विरोधमा आन्दोलन चर्किएपछि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।
घटनालाई लिएर आक्रोशित स्थानीय र प्रहरीबीच मंगलबार झडप हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर आन्दोलित स्थानीय पनि घाइते भएका छन्।
ईश्वरपुर–५ का १५ वर्षीय बालक सञ्जय महतोलाई खुट्टामा गोली लागेको छ। उनलाई उपचारका लागि जनकपुर पठाइएको छ। चन्द्रनगर गाउँपालिका–२ बबरगञ्जका दिगम्बर महतोलाई घुँडामा प्लास्टिकको गोली लागेको छ।
इलाका प्रहरी कार्यालय केशरगञ्जबाट पूर्वमा ईश्वरपुर–४ सागरनाथ टोलसम्म, पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा वडा नं ५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले निकालेको विज्ञप्तिमा लेखिएको छ।
पुष १३, २०७८ मंगलबार २२:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।