महँगो भए पनि स्वदेशी उत्पादन नै प्रयोग गर्न व्यापारीको आग्रह

महँगो भए पनि स्वदेशी उत्पादन नै प्रयोग गर्न व्यापारीको आग्रह

काठमाडौँ : नेपालका उद्योगी व्यापारीले दक्ष जनशक्तिको अभाव भएको बताएका छन्। वस्तुगत सङ्घका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले गरेको कार्यक्रममा व्यापारीहरूले दक्ष जनशक्तिको अभाव भएको बताए।

उनीहरूले विदेशी भन्दा महँगो नै भए पनि स्वदेशी उत्पादन प्रयोग गर्ने अनिवार्य नीति कार्यान्वयन हुनु पर्ने माग गरे। कार्यक्रममा फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएको बताए। 

उनले नियमित रूपमा तालिम दिने केन्द्रहरू सञ्चालनमा ल्याउनु पर्ने सुझाव दिए। भन्सार दर अत्यधिक महँगो भएकाले नेपाली जुत्ताहरू निर्यातमा समस्या परेको उनको गुनासो छ। ‘सरकारले १५ प्रतिशत महँगो भए पनि स्वदेशी उत्पादनको प्रयोग अनिवार्य गर्ने भनेको थियो’,उनले भने,‘त्यो व्यवहारिक रूपमा कार्यान्वयन भएको छैन।’ 

नेपाल कोरोगेटेड बक्स उत्पादक सङ्घका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भए पनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्या भएको गुनासो गरे। उनले बहुराष्ट्रिय कम्पनी र राष्ट्रिय कम्पनीहरूले दिने तलब ज्याला सामान हुँदा समस्या भएको तर्क गरे। 

नेपाल कुरियर सेवा सङ्घका अध्यक्ष देवेन्द्र खड्काले अन्तर्राष्ट्रिय विमानस्थल र बस पार्कहरूमा छुट्टै कुरियर टर्मिनलको माग गरे। उनले कुरियर भ्यानलाई ट्राफिकबाट समस्या भएकाले समस्या समाधानमा पहल हुनुपर्ने  र कुरियरमा भ्याट हटाउनु पर्ने माग गरे। 

नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव बहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुपर्ने नीतिले समस्या ल्याएको बताए। 

उनले भन्सार सन्दर्भ मूल्य सूची र कालोबजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेको उल्लेख गरे। 

नेपाल कृषि मेशीनरी व्यवसायी सङ्घका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लास्टिक, थोपा सिँचाइको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेको जानकारी दिए। उनले यी सबै स्वदेशी उत्पादनहरूलाई नै प्रवर्द्धन गर्ने नीति सरकारको हुनुपर्ने  सुझाव दिए। 

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने बताए। 

नेपाल जडीबुटी उत्पादक सङ्घका अध्यक्ष प्रेमराज तिवारीले जडीबुटीमा ठुला लगानीकर्ताहरू पनि आउनुपर्ने बताए। जडीबुटीमा नयाँ नयाँ प्रविधि भित्र्याउन पहल गर्नुपर्ने सुझाव उनको छ। 

नेपाल ऊनी फेल्ट उत्पादक तथा निर्यातक सङ्घका अध्यक्ष नरेशलाल श्रेष्ठले ढुवानीमा समस्या रहेको बताए। कन्टेनर नपाउने र पाएमा पनि महँगो भाडा तिर्नुपर्ने समस्या रहेको उनले सुनाए। उनले फेल्ट उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्वदेशमै उत्पादन गर्ने नीति राज्यको हुनुपर्ने  सुझाव दिए। 

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायको पुनरुत्थानमा क्रियाशील हुन आग्रह गरे।

पुष १३, २०७८ मंगलबार १६:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।