गोर्खाज फाइनान्सको सेयर लगानी जोखिममा, एकै दिन घट्यो ९.९९ प्रतिशत

काठमाडौँ : मङ्गलवार सेयर कारोबार रकम घटेर ३ अर्ब रुपैयाँमा झर्दा पनि केही कम्पनीका लगानीकर्ता भने फाइदैमा रहे। मङ्गलवार मध्य भोटेकोसी शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। नेपाल हाइड्रो डेभलपर्सको ५.३६ प्रतिशत, जानकी फाइनान्सको ४.८५ प्रतिशत, गुडविल फाइनान्सको ४.२८ प्रतिशत ४.२८ प्रतिशतले मूल्य बढेको छ।
सोमबार साढे ६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा मङ्गलवार कारोबार रकम झन्डै आधाले घट्दा नेप्से भने २ दशमलव ६६ अङ्क मात्र घटेको छ। मङ्गलवार ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँ बराबरको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर कारोबार भएको छ।
सोमबार नेप्से सूचक ६९ अङ्कले घटेको थियो। सोमबार उकालो लागेको गोर्खाज फाइनान्सको शेयर मूल्य मङ्गलवार उसैगरी ओरालो लागेको छ। मङ्गलवार सबैभन्दा धेरै ९.९९ प्रतिशतले घट्यो। सामलिङ्ग पावरको ६.०४ प्रतिशत, मैलुङ खोला जलविद्युतको ४.८८ प्रतिशत र युनाइटेड इदि मर्दी हाइड्रोपावरको ४.८८ प्रतिशतले मूल्य घटेको छ।
मङ्गलवार हिमालयन डिस्टीलरीको सबैभन्दा धेरै २६ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। नबिल बैङ्कको २५ करोड ३७ लाख, नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ८४ लाख र मञ्जुश्री फाइनान्सको १२ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
मङ्गलवार कारोबारमा आएका १३ उपसमूहमा ६ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ७ उपसमूहको सूचक नकारात्मक देखिएको छ।
पुष १३, २०७८ मंगलबार १६:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।