दलित समुदायका ३७ बालिकालाई शान्ति समाजको नगद छात्रवृत्ति

काठमाडौँ : कक्षा ६ मा अध्ययनरत दलित समुदायका ३७ जना बालिकाले १२ हजार रुपैयाँका दरले छात्रवृत्ति पाएका छन्।
मानव अधिकार तथा शान्ति समाजले ६ कक्षामा अध्ययनरत बालिकालाई १२ हजारका दरले ४ लाख ४४ हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको जानकारी दिएको छ।
मोरङको कटहरी गाउँपालिका थलाहामा रहेको जनता मा.वि.का २९ जना र धनपालथान गाउँपालिका दादर वैरियाको सरस्वती मा.वि.का आठ जना गरी ३७ जना बालिकालाई छात्रवृत्ति रकम प्रदान गरिएको हो।
समाजले ३७ जना बालिकालाई कक्षा १० सम्म हरेक वर्ष १२ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्ने जानकारी दिएको छ।
समाजका सभापति गोविन्द खनालले शान्ति समाजको पाँच वर्षे बालिका छात्रवृत्ति अभियानले आर्थिक/सामाजिक रूपमा पछि परेकाहरूको उत्थानमा बल पुग्ने बताए।
पाँच वर्षसम्म प्रदान गरिने यो छात्रवृत्ति अभियानका लागि शान्ति समाजका सदस्य तथा शुभचिन्तक रामप्रसाद जोशीले २ जना, अनुजा खनालले २ जना, संवत थापाले २ जना, अपूर्वा शर्माले २ जना र उर्मिला पराजुलीले २ जनालाई ५ वर्षे छात्रवृत्तिका लागि सहयोग प्रदान गर्ने समाजले विज्ञप्ति निकालेर जानकारी दिएको छ।
समाजका अनुसार गोविन्द खनाल, होमकान्त चौलागाई, उत्तम पुडासैनी, रत्नलक्ष्मी श्रेष्ठ, कृष्णबहादुर रावल, रामकृष्ण बराल, डिकप्रसाद घिमिरे, विकास थापा, नम्रता खरेल, सुदीप रिजाल, किरण ढकाल, भेषराज पोखरेल, डिल्लीबहादुर कार्की, दिलबहादुर कार्की, कोमलप्रसाद शर्मा, यमुना कँडेल, रामबाबु दाहाल, लोचन रिजाल, राजेन्द्र खनाल, भैरव रिजाल, अच्युत बराल, तरुण शर्मा, मिना चौलागाई, राधिका खनाल, लक्ष्मी बराल, आर्या पाण्डे र शैशव खनाल गरी ३२ जनाले पाँच वर्षे छात्रवृत्ति अभियानका लागि ५ वर्षभित्र २२ लाख २० हजार रुपैयाँ सहयोग गर्नेछन्।
पुष १३, २०७८ मंगलबार १५:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।