आज दिनभर प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल हुँदै, भोलि निष्कर्ष प्रस्तुत गरिने

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जारी आठौं महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आजबाट छलफल हुँदैछ। प्रदेशगत रूपमा समूह विभाजन गरी सामूहिक छलफल भइरहेको छ।
कुल २५ वटा समूहले सोमबारको बन्द सत्रमा प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रस्तावमाथि छलफल गर्दैछ।
गुरुङले प्रस्ताव गरेको विधान मस्यौदामा पार्टीको केन्द्रीय कमिटी २९९ सदस्यीय रहने, पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था प्रस्तावित गरिएको छ।
समूहगत छलफलका लागि बनाइएको २५ समूहको छलफल गर्ने स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी पनि तोकिएको छ। जेष्ठ कम्युनिष्ट मञ्चको समन्वयको जिम्मेवारी एनके प्रसाईंले पाएका छन्। सो समूहको छलफल प्रज्ञा भवनको सभालको मुख्य भागमा हुनेछ।
यस्तै सल्लाहकारहरूलाई प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया तोकिएको छ। यसको समन्वयको जिम्मेवारी नन्दकुमार थापाले पाएका छन्।
प्रदेश नं. १का प्रतिनिधिहरूलाई भानुभक्त हल, प्रज्ञा भवनमा तोकिएको छ भने यसको समन्वयको जिम्मेवारी हर्क नेम्वाङले पाएका छन्।प्रदेश नं. २का प्रतिनिधिहरू पारिजात हल, प्रज्ञा भवनमा गणेश साहको समन्वयमा छलफल गर्दैछन्।
लुम्बिनी प्रदेशका प्रतिनिधिहरू सिद्धिचरण हल, प्रज्ञा भवनमा चक्रपाणी खनालको समन्वयमा छन्। गण्डकी प्रदेशका प्रतिनिधिहरू पार्टी कार्यालय, पेरिसडाँडामा गायत्री गुरुङको समन्वयमा छन्। प्रवास प्रदेशका प्रतिनिधिहरू पनि पेरिसडाँडामै लक्ष्मण पन्तको समन्वयमा छलफलमा छन्।
कर्णाली प्रदेशका प्रतिनिधिहरू एवान पार्टी प्यालेसमा विमला केसीको समन्वयमा छन्। सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू पनि सोही स्थानमा खगराज भट्टको समन्वयमा छन्।
यस्तै सम्पूर्ण विभागका प्रतिनिधिहरू क्वालिटी बैंकट, बुद्धनगरमा मायाप्रसाद शर्माको समन्वयमा छलफलमा छन्। उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू पनि यहीँ जगत सिंखडाको समन्वयमा छलफल गर्दैछन्।
सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरू क्रिष्टल पार्टी प्यालेस, बिजुलीबजारमा कृष्ण अधिकारीको समन्वयमा छन्।
बागमती प्रदेशका प्रतिनिधिहरू काठमाडौं बैंकट, थापागाउँमा सरल सहयात्रीको समन्वयमा छलफलमा छन्। आयोगका सदस्यहरू पनि सोही स्थानमा विष्णुपुकार श्रेष्ठको समन्वयमा छन्।
यस्तै जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू र एकताबाट आएका प्रतिनिधिहरू पनि यहीँ समूहगत छलफलमा छन्। यसको समन्वयको जिम्मेवारी अमृता थापामगरले पाएकी छिन्।
मंगलबार दिनभर समूहगत छलफल हुनेछ। बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ।
पुष १३, २०७८ मंगलबार १०:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।