१८ करोडको एकीकृत सन्थाल बस्ती: दश महिनामा ठेक्काबाहेक शून्य प्रगति

१८ करोडको एकीकृत सन्थाल बस्ती: दश महिनामा ठेक्काबाहेक शून्य प्रगति

इटहरी: २०७७ फागुन ८ गते शिलान्यास भएको सन्थाल एकीकृत बस्ती निर्माणको काम अलपत्र परेको छ। मोरङ उर्लाबारी नगरपालिकाको रातोहोली किनारमा १८ करोडको लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको सन्थाल बस्तीको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए। 

तर, शिलान्यास भएको १० महिनासम्म पनि काम सुरु हुन सकेको छैन। कुल ३१ हजार ७६८ वर्गमिटरमा निर्माण गर्ने तयारीसहित शिलान्यास भएको बस्तीमा अहिलेसम्म ठेक्का लाग्नेबाहेक कुनै पनि काम हुन सकेको छैन।

एकीकृत बस्ती विकास कार्यविधि २०७५ अनुसार निर्माण गर्ने भनिएको बस्तीलाई नमुना बस्तीको रूपमा रूपान्तरण गर्ने सरकारको योजना छ। स्थानीय सीप र कलाको प्रयोग गरी भान्सासहित ३ कोठा र शौचालयसहितको घर बनाउने योजना छ। 

ओलीले शिलान्यासको क्रममा सन्थाल जातिको संस्कृति संरक्षणका लागि बाजागाजाको व्यवस्था मिलाउने बताएका थिए। त्यही बाजा बजाएर नमुना बस्तीमा नाच्न तयार रहन आग्रह गरेका थिए। 

कुल १३२ वटा घर मध्ये १०६ सन्थाल जातिको र २६ उराउ जातिको लागि बनाउने गरी योजना अगाडी बढेको थियो। त्यही १०६ भित्र आफ्नो घर पनि पर्ने आसमा रहेका नन्दलाल किस्कु अहिले निराश छन्। 

सरकारले आस देखाएर अहिलेसम्म घर नबनाइदिँदा अन्योल भएको उनले बताए। छोराछोरीलाई पढाउन पाइने र आफूले पनि भुसको घर छाड्न पाइने सपना देखेका उनको विश्वास टुट्दै गएको छ। 

शहरी विकास मन्त्रालयको गुरुयोजनाअनुसार अगाडि बढेको बस्ती निर्माण प्रक्रिया जग्गा विवादको कारण रोकिएको उर्लाबारीका मेयर खड्ग फागोले बताए। ४० वर्षदेखि स्थानीयले चर्चेको जग्गा छाड्न नमानेपछि अन्योल भएको फागोको भनाइ छ।

हाल जग्गा चर्चेर बस्नेहरू सन्थाल, उराउ जातिबाहेकका भएकाले उनीहरूले निर्माण भएको घर नपाउने भएपछि समस्या आएको उनले बताए।

यता स्थानीय रोमन किस्कु नेताहरूले झुटो बाचा गरेको बताउँछन्। नेताहरूले यसैगरी धेरै पटक धोका दिएको उनले सुनाए। ‘ओलीले केही गर्लान् भन्ने लागेको थियो त्यो पनि भएन’, उनले भने, ‘मैले शिलान्यास हुने बित्तिकै बन्ने पक्का त हुँदैन भनेको थिएँ। बोलेर मात्र कहाँ हुन्छ र।’

खोला किनारामा छाप्रो हालेर बसेका बल्कु मार्डीको भने अझै आस मरेको छैन। गरिबलाई भगवानले साथ दिन्छन् भन्ने उनलाई लागेको छ। 

शिलान्यास कार्यक्रममा सन्थाल जातिका प्रतिनिधि बुद्धिलाल सुरेनले पहिलादेखि आसु पुछ्दै बसेको र अब गरिब सन्थालका दिन फेरिएको बताएका थिए। ओलीलाई धन्यवाद दिएका उनी अहिले निराश छन्।

पूर्वी नेपालको झापा र मोरङमा बस्ने सन्थाल जाति सीमान्तकृतमा पर्छन्। २०६८ को जनगणनाअनुसार ५१ हजार ७३५ सन्थाल जाति नेपालमा बसोबास गर्छन्। त्यसमध्ये १ हजार ७३६ले मात्र शहरी सुविधा उपयोग गरिरहेका छन्। 

नेपाल सरकारले लोपोन्मुख र अल्पसङ्ख्यकको सूचीमा राखेको सन्थाल समुदाय हिन्दू धर्म परम्परा मान्छन्। त्यसमध्ये ‘सोराही’ उनीहरूको सबैभन्दा महान् चाड हो। माघ शुक्ल पूर्णिमादेखि ५ दिनसम्म पारिवारिक जमघट गरेर उनीहरू यो चाड मनाउँछन्।

यो चाडमा दशैंजस्तै मीठो मसिनो खाने र बाजा बजाएर नाच्ने चलन छ। यद्यपि, चाडबाड आउनै लाग्दा पनि एकीकृत बस्ती निर्माणको काम सुरु नहुँदा भने उनीहरूको चाड खल्लो हुने भएको छ।

पुष १३, २०७८ मंगलबार ०९:१९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।