पार्टीका नेतामा यौन र पैसाप्रति आशक्ति बढेको प्रचण्डले स्विकारे

पार्टीका नेतामा यौन र पैसाप्रति आशक्ति बढेको प्रचण्डले स्विकारे

माओवादी र अन्य दलका नेताको आचरण र व्यवहार उस्तै देखिएको भन्दै उनले राजनीतिक प्रतिवेदनमा यसमा गम्भीर बहस हुनुपर्ने उल्लेख गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफै आर्थिक पारदर्शिताबारे पटक-पटक विवादमा आइरहन्छन्। माओवादीका अधिकांश नेता अनियमितताको आरोपमा जोडिएका छन् भने पार्टी नेताहरू यौन सम्बन्धका कारण बारम्बार बदनाम हुने गरेका छन्।

कृष्णबहादुर महराले बलात्कार प्रयासको मुद्दाबाट सफाई पाए पनि उनमा यौन विचलन देखिएको पार्टीले नै स्वीकार गरेको तथ्य हो। अर्का नेता नारायणकाजी श्रेष्ठ आफ्नै सहयोगीसँगको सम्बन्धबारे बेलाबखत विवादमा आउने गरेका छन्।

' जनताले आज हाम्रो पार्टी अन्य पार्टीहरूमा खासै भिन्नता देखिरहेको छैन । कमिसन, भ्रष्टाचार, यौन अनैतिकता, व्यक्तिवाद, पद र पैसाप्रतिको आशक्ति बढ्दो छ,' प्रतिवेदनमा छ'यो स्थितिलाई बदल्न नसक्ने हो भने क्रान्तिकारी पार्टी र उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव छैन।'

ऊनले सांस्कृतिक रूपान्तरणको विषयलाई प्रत्येक कमिटीले विचार, राजनैतिक, सङ्गठन र आचरणको तहबाट गम्भीर बहस छलफल सहित साझा निष्कर्षका लागि विभिन्न जोड गर्ने तथा व्यवहारमा उतार्न योजनाबद्ध पहल गर्नुपर्नेमा जोड दिएका छन्।

उनले माओवादी पार्टीलाई बलियो बनाउन पार्टीका नेता कार्यकर्ताहरूलाई उत्पादन, श्रम एवं श्रमिक जनसमुदायसँग जोड्न सबै तहका पार्टी कमिटीहरूले आ-आफ्नो स्तरमा ठोस कार्य योजना बनाई कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउने उल्लेख गरेका छन्।

त्यसो गर्दा समुदायको विकास निर्माणको आवश्यकता र उत्पादन वृद्धिका कामलाई विशेष ध्यान दिने र यो प्रक्रियालाई पार्टी र जन समुदायको सांस्कृतिक रूपान्तरण एवं चेतना अभिवृद्धिका कार्यक्रमहरूसँग जोडेर लैजाने प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा प्रत्येक कमिटी र सदस्यहरूले आर्थिक अनुशासन र पारदर्शिता कायम राख्न विशेष जोड गर्ने,  कमिटीका बैठकहरूमा कम्तीमा ६ महिनामा एक पटक आर्थिक हिसाब प्रस्तुत गर्ने, लेबी कोटा नियमित गर्ने तथा लेखा दुरुस्त पार्न जोड गर्न पार्टी र जनसमुदायमा समेत भ्रष्टाचार विरोधी अभियान चलाउने उल्लेख छ।

समाजवाद उन्मुख आधार निर्माण गर्ने इकाइका रूपमा स्थानीय स्तरमा सामूहिक उत्पादन टोली, सामूहिक श्रम टोली बनाई कामलाई अगाडि बढाउने र यो प्रक्रियाबाट गरिबी, अभाव र सङ्कटमा रहेका कार्यकर्ताहरूको संरक्षण कोष खडा गर्ने प्रतिवेदनमा भनिएको छ।

सांस्कृतिक रूपान्तरणको प्रश्न क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणको अनिवार्य सर्त रहेको उल्लेख गर्दै पार्टीका नेता कार्यकर्ताको दैनिक आचरण, सम्पर्क सम्बन्ध, जीवन पद्धति, लवाई खुवाई, यौन जीवन, आर्थिक र पारिवारिक सम्बन्ध, विज्ञानको ज्ञान, वर्ग चेतना, श्रम उत्पादन, अध्ययन अनुसन्धान, नेता, कार्यकर्ता र जनताका बिचको सम्बन्ध, वैयक्तिक सामूहिक र सार्वजनिक जीवन आदिका रूपमा पार्टी सांस्कृतिक स्तर र पहिचान अनि व्यक्त भइरहेको हुने प्रतिवेदनमा लेखिएको छ।

पुष १३, २०७८ मंगलबार ०१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।