जन्मकैद पाएका कैदी भगाएको आरोपमा जेलर र प्रहरीसहित सात जना पक्राउ

जिल्ला अदालत दागंको अनुमतिमा घोराही कारागारका जेलर युवराज परियार जेलको सुरक्षा हेर्ने प्रहरी सहायक निरीक्षक रुद्रबहादुर सेन ठकुरी, प्रहरी हवलदार गणेशकुमार थारु, कैदीलाई अस्पताल लैजाने प्रहरी जवान धनबहादुर चौधरीसहित तीन जना सर्वसाधारणलाई पक्राउ गरिएको हो।
सर्वसाधारणको नाम खुलेको छैन। एक रेस्टुरेन्ट सञ्चालक र २ महिला पक्राउ परेको स्रोतले पुष्टि गरेको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय पाएका यमराज परियारलाई उपचारका लागि अस्पताल लैजाने भनेर उनलाई घोराहीस्थित प्याराडाइज रेस्टुरेन्टमा खाजा खान लगिएको थियो। उनी त्यहीबाट प्रहरीको मोटरसाइकल लिएर भागेका थिए।
धनबहादुरले अस्पताल लैजाँदा भागेको दाबी गरे पनि पछि रेस्टुरेन्ट लगेको र त्यहीबाट भागेको सिसिटिभी फुटेजै फेला परेको थियो। अनुसन्धानमा विदामा भएका जेलर आएर उनलाई अस्पताल लैजाने अनुमती दिएको र अस्पताल लैजाँदा कुनै सुरक्षा प्रबन्ध नगरी प्रहरी जवानको मोटरसाइकल पछाडि हतकडी समेत नलगाई लगेको खुलेको थियो।
जन्मकैदका दोषीलाई जेलर र प्रहरी जवानको योजनामा भगाइएको शङ्का, प्रहरीसँगै जेलर पनि पक्राउ
परियारलाई प्रहरी जवान चौधरीले लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर सिधै रेस्टुरेन्ट लगेको खुलेको छ। उनीहरू २ महिलासहित रेस्टुरेन्ट गएको समेत पुष्टि भएको छ। प्रहरी जवान चौधरी र परियार रेस्टुरेन्टमा रहेको २ कोठामा बसेको बेलामा परियार भागेको दाबी गरिए पनि जेलरदेखि प्रहरीसम्मको योजनामै परियारलाई भगाइएको शङ्का गरिएको छ।
प्रेमिका हत्याको आरोपमा पक्राउ परेर अदालतबाट अपराध पुष्टि भएका उनले सात वर्ष मात्रै जेल सजाय काटेका थिए।
पुष १२, २०७८ सोमबार २०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।