डरलाग्दो स्वरूपमा आर्थिक अपराध : बैङ्किङ कसुर १०५ %, ठगी १६ % बढ्यो

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ज्यान सम्बन्धी घटना ४.५३ प्रतिशतले बढेको छ। सबैभन्दा जोखिम देखिएको सङ्गठित आर्थिक अपराध २६.८९ प्रतिशतले बढेको छ। यसै गरी चोरी सम्बन्धी घटना त आकासिएकै भन्न सकिन्छ। तथ्याङ्क अनुसार यो पाँच महिनाको बिचमा चोरी सम्बन्धी घटना ३५ प्रतिशत बढेको छ।
आर्थिक वर्ष २०७८/०७९ को पाँच महिनामा २ सय ४६ हत्या भएको थियो। हत्या प्रयासका ४ सय ६५ वटा घटना भए। कुल ज्यान सम्बन्धी अपराधमा ७.२६% प्रतिशत हत्या रहेको छ।
शीर्षक अनुसार हेर्दा हत्या सम्बन्धी घटना १५ प्रतिशतले घटेको देखिन्छ। गत वर्षको पाँच महिनामा २ सय ९० जनाको हत्या भएकोमा यही अवधिमा यो वर्ष २ सय ४६ जनाको मात्र हत्या भएको विवरण प्रहरी प्रधान कार्यालयको छ।
आर्थिक वर्ष २०७६/०७७ को पाँच महिनामा चोरीको १ हजार ३ सय २३ वटा घटना दर्ता भएका छन्। गत आर्थिक वर्षको यही अवधिमा चोरीका ९ सय १६ वटा घटना मात्र दर्ता भएको थियो। गत वर्षको यही अवधिमा कोरोना सङ्क्रमणका कारण लकडाउन रहेको र अहिले त्यस्तो कुनै रोकावट नभएकाले चोरीको घटना बढेको प्रहरीको तर्क छ।
ठगी अनि बैङ्किङ कसुर सम्बन्धी अपराधको सङ्ख्या ह्वात्तै बढेको देखियो। यो वर्ष यी दुवै अपराध १६ र एक सय पाँच प्रतिशत बढेका छन्। सबैभन्दा डरलाग्दो पक्ष बैङ्किङ कसुरको अपराध देखिएको छ। फाइनान्स ठगीका घटना यो बिचमा धेरै बढेका छन्।
बलात्कार घटना कम
प्रहरीको तथ्याङ्कमा महिला सम्बन्धी गम्भीर अपराधमा कमी आएको देखिन्छ। तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यो वर्षको पाँच महिनामा बलात्कार सम्बन्धी आपराधिक घटनामा नौ प्रतिशत कम भएको छ। गत वर्षको साउनदेखि पुससम्म एक हजार ९७ वटा बलात्कार सम्बन्धी घटना दर्ता भएको थियो। यो वर्ष त्यही अवधिमा ९ सय ९३ वटा घटना मात्र दर्ता भएका छन्।
बलात्कार प्रयासका घटना समेत घटेका छन्। प्रहरीले कार्यालयमा परेको जाहेरीका आधारमा आपराधिक घटनाको विश्लेषण गर्ने भएकाले अपराध घटेको हो या दर्ता कम भएको एकिन भन्न सक्ने अवस्था भने देखिएन। तर मानव बेचबिखन तथा ओसार पसारका घटना भने ९० प्रतिशतले बढेको छ। गत वर्ष जम्मा ४० घटना प्रहरीकोमा आएकोमा यो वर्ष पाँच महिनामा ७६ वटा घटना प्रहरीमा दर्ता भएको छ। मानव बेचबिखन तथा ओसारपसारका अधिकांश पीडित महिला हुने गरेका छन्।
पुष १२, २०७८ सोमबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।