सुर्खेतमा मोबाइल चोर पक्रन २७ जना प्रहरी परिचालन  

सुर्खेतमा मोबाइल चोर पक्रन २७ जना प्रहरी परिचालन  

प्रहरीले करिब दुई हप्ता अघिदेखि आफूलाई सुर्खेतको बारेमा जानकारी नभएकोले आफन्तलाई एक छिन फोन गर्नुपर्ने भन्दै मोबाइल समातेर मोटरसाइकल र स्कुटरमा भाग्ने गरेको गुनासो आएपछि २७ जना सादा पोसाकका प्रहरीले अनुसन्धान गर्दै जाँदा सोमबार दुई जना पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कनक शाहीले जानकारी दिए। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भे ७ प ३२५२ नम्बरको स्कुटरमा सवार वीरेन्द्रनगर नगरपालिका-१ का अन्दाजी १९ वर्षीय नवीन सुनार र अन्दाजी वर्षीय १८ रविन गुरुङलाई पक्राउ गरेको जनाएको छ। 

उनीहरूको साथबाट  ‘रियलमी’ र  ‘भिभो’ कम्पनीको दुई वटा मोबाइल पनि बरामद गरेको प्रहरीले जनाएको छ। ‘हामी भारतबाट आएका हौँ। सुर्खेतको पश्चिम स्थित पलाइटे घर हो। अलपत्र परेका छौँ भन्दै विभिन्न व्यक्तिहरूसँग कुरा गर्ने र फोन गरिदिन भन्दै मोबाइल मागेर फरार हुने गरेका थिए। एक हप्तापछि मात्रै पक्राउ गर्न सफल भयौँ,’ शाहीले भने, ‘अर्को समूह पनि छ भन्ने खबर आएको छ। त्यसबारे पनि हाम्रो ध्यानाकर्षण भएको छ।’

पक्राउ परेका दुई जनालाई जिल्ला अदालत सुर्खेतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यस्तै पूजापाठ र घरायसी प्रयोजनमा प्रयोग हुने सामाग्री चोरी गर्ने दुई जनालाई पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ। प्रहरीले वीरेन्द्रनगर-५ का ३८ वर्षीय शेरबहादुर बसेल र वीरेन्द्रनगर-४ का सुरेश नेपालीलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट पूजापाठमा प्रयोग हुने कलश, करुवा, घण्ट, गाग्री, बिजुलीका तार, टर्च लाइट, फलामे छड लगायतका सामाग्री बरामद गरिएको प्रहरीले जनाएको छ।

पुष १२, २०७८ सोमबार १८:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।