माओवादीको प्रस्तावित विधान : पदाधिकारीमा महिला प्रतिनिधित्वबारे मौन 

माओवादीको प्रस्तावित विधान : पदाधिकारीमा महिला प्रतिनिधित्वबारे मौन 

माओवादी महाधिवेशनको बन्द सत्रमा प्रस्तुत विधान मस्यौदामा केन्द्रीय कमिटीमा महिलाको ३५, दलितको १५, मुस्लिमको ५ प्रतिशत प्रतिनिधित्व हुने व्यवस्था गरिएको छ। 

१५ पदाधिकारीमा भने महिलाको प्रतिनिधित्वबारे प्रस्तावित विधान मौन बसेको छ। विधान प्रस्तुत गरेका स्थायी कमिटी सदस्य देव गुरुङले पदाधिकारीमा महिलाको नेतृत्व पार्टीले निर्णय गरेअनुसार हुने बताए।  

माओवादीको २९९ सदस्यीय केन्द्रीय कमिटीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष छ जना, महासचिव, उपमहासचिव दुई जना, सचिव तीन जना र कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गरिएको छ। 

सबै समूहबाट ४० वर्ष मुनिका युवाको २० प्रतिशत प्रतिनिधित्व अनिवार्य गरिएको गुरुङले बताए। 

माओवादीको बन्द सत्रमा प्रस्तुत प्रचण्डको राजनीतिक दस्ताबेज र स्थायी कमिटी सदस्य गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रस्तावमा छलफल गर्न प्रतिनिधिहरूको २५ वटा समूहमा विभाजन गरिएको छ।

समूह १ मा ज्येष्ठ कम्युनिस्ट मञ्चले प्रज्ञा भवनको सभाको मुख्य भागमा छलफल गर्दै छ। समन्वयनको जिम्मेवारी एनके प्रसाईँले पाएका छन्। समूह २ र ३ मा सल्लाहकारहरूले प्रज्ञा भवनको मुख्य मञ्चमा गर्ने छलफलको समन्वय गर्ने जिम्मेवारी नन्दकुमार थापाले पाएका छन्। 

यस्तै समूह ४ र ५ मा प्रदेश नम्बर १ का प्रतिनिधिहरूले भानुभक्त हल, प्रज्ञा भवन छलफल गर्नेछन्। समन्वय गर्ने जिम्मेवारी हर्क नेम्वाङले पाएका छन्। 

गणेश शाहले समन्वय गर्ने जिम्मेवारी पाएको समूह ६ र ७ मा प्रदेश नम्बर २ का प्रतिनिधिहरूले पारिजात हल, प्रज्ञा भवनमा प्रचण्डको प्रतिवेदन र विधान मस्यौदाबारे छलफल गर्ने माओवादी प्रचार कमिटीले जानकारी दिएको छ। 

चक्रपाणि खनालले समन्वय गर्ने समूह ८ र ९ मा लुम्बिनी प्रदेशका प्रतिनिधिहरूले सिद्धिचरण हल, प्रज्ञा भवन, गायत्री गुरुङले जिम्मेवारी पाएको समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधिहरूले पार्टी कार्यालय पेरिसडाँडामा छलफल गर्नेछन्। लक्ष्मण पन्तको जिम्मेवारीमा समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधिहरूले पार्टी कार्यालय पेरिसडाँडामा, विमला केसीको जिम्मेवारीमा समूह १३ र १४ मा कर्णाली प्रदेशका प्रतिनिधिहरू र खगराज भट्टले जिम्मेवारी पाएको समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूले एवान पार्टी प्यालेसमा छलफल गर्नेछन्। 

माया प्रसाद शर्माले समन्वयन गर्ने जिम्मेवारी पाएको समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधिहरू र जगत सिम्खडाले जिम्मेवारी पाएको समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरूले क्वालिटी बैंकट, बुद्धनगरमा छलफल गर्नेछन्। 

यस्तै कृष्ण अधिकारीले समन्वय गर्ने जिम्मेवारी पाएको समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरूले क्रिष्टल पार्टी प्यालेस, बिजुली बजारमा छलफल गर्नेछन् भने सरल सहयात्रीले जिम्मेवारी पाएको समूह २२ र २३ मा बागमती प्रदेशका प्रतिनिधिहरूले काठमाडौं बैंकट, थापागाउँमा छलफल गर्नेछन्। 

यस्तै विष्णुपुकार श्रेष्ठले जिम्मेवारी पाएको समूह २४ मा आयोगका सदस्यहरूले काठमाडौं बैंकट, थापागाउँमा र अमृता थापामगरले जिम्मेवारी पाएको समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरूले काठमाडौं बैंकट, थापागाउँमा छलफल गर्नेछन्। 

माओवादीको प्रचार प्रसार उपसमितिका अनुसार मंगलबार दिनभर समूहगत छलफल हुने छ। बुधबार बिहान ११ बजेदेखि समूह प्रमुखहरूले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ। 

पुष १२, २०७८ सोमबार १८:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।