ट्राफिक जरिवानाबापत प्रहरीले पाँच महिनामा जम्मा गर्‍यो ५७ करोड, तस्करीको सुनबाट ८५ करोड

ट्राफिक जरिवानाबापत प्रहरीले पाँच महिनामा जम्मा गर्‍यो ५७ करोड, तस्करीको सुनबाट ८५ करोड

यसमा सबैभन्दा धेरै अवैध सुन बरामदको रहेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो पाँच महिनाको अवधिमा प्रहरीले ८५ करोड ६१ लाख रुपैंया बराबरको अवैध सुन बरामद गरेको छ। गत वर्ष यही अवधिमा उसले १९ करोड बराबरको अवैध सुन बरामद गरेको थियो।

यसले अघिल्लो वर्षको तुलनामा यो वर्षको पाँच महिनामा सुन तस्करीको परिणाम बढेको समेत देखिन्छ। प्रहरीले राखेको तथ्याङ्क आफूले बरामद गरेको अवैध सुनको मात्रै हो। दोस्रोमा ट्राफिक कारबाही रहेको छ। पाँच महिनाको अवधिमा प्रहरीले ट्राफिक नियम उलङ्घन गरे बापत गरेको जरिवाना रकम ५७ करोड रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा यो ६३ प्रतिशत बढी हो। यसले गत वर्षको पाँच महिनाको तुलनामा यो वर्ष ट्राफिक नियम उलङ्घनको घटना बढेको देखिन्छ।

प्रहरीले कोरोना सङ्क्रमणको समयमा मास्क नलगाएको भन्दै जरिवाना गरेर ८ लाख १६ हजार जरिवाना सङ्कलन गरेको छ।

यसै गरी अवैध मालसामान बापत ४३ करोड ८४ लाख, कार्यान्वयन नभएको अदालती फैसलाका फरार पक्राउ गरेर २५ करोड ७७ लाख राजश्व सङ्कलन गराएको छ। अवैध चाँदी बरामद बापत ५७ लाख राजश्व सङ्कलन भएको छ। अवैध काठबाट १ करोड ४४ लाख राजश्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सरकारले प्रहरीलाई चालु र पुजिगत खर्चमा चालिस अर्ब ७६ करोड विनियोजन गरेको छ। त्यसको पाँच प्रतिशत रकम प्रहरीले कारबाही बापत राजश्व सङ्कलन गरेर सरकारलाई फिर्ता गरेको देखिन्छ।

पुष १२, २०७८ सोमबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।