युट्युवरप्रति आक्रामक बन्दै प्रहरी : अश्लीलता फैलाएको आरोपमा २ सञ्चालक हिरासतमा

युट्युवरप्रति आक्रामक बन्दै प्रहरी : अश्लीलता फैलाएको आरोपमा २ सञ्चालक हिरासतमा

काठमाडौँ : युट्युबमार्फत विभिन्न कार्यक्रम बनाएर प्रसारण गर्नेहरूप्रति प्रहरीको साइबर ब्युरो आक्रामक बनेको छ। विभिन्न बहानामा कार्यक्रम बनाएर अश्लीलता फैलाएको भन्दै प्रहरीले युट्युब च्यानल चलाउने सञ्चालकहरूलाई साइबर क्राइम अन्तर्गत पक्राउ गर्न थालेको छ।

प्रहरीले सोमबार युट्युब च्यानल मार्फत अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाउने भिडियोहरू बनाएर प्रसारण गरेको आरोपमा ३१ वर्षका रामबहादुर मल्ललाई पक्राउ गरेको छ। ब्युरोका अनुसार विद्धुतिय कारोबार एन अनुसार उनलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिइएको छ।

उनले आफ्नो च्यानलमा प्राय प्रयांक भिडियोहरू राख्ने गरेका छन्। उनले मनोरञ्जनका लागि मात्र भिडियो बनाएको भन्दै पठाओ चालकलाई आफ्नी प्रेमीकालाई मोटरसाइकलमा राखेको भनेर झगडा गरेको भिडियो राखेका थिए। एक लाख १७ हजारले उनको च्यानल सब्सक्राइब गरेका छन्। उनले दोहोरो अर्थ लाग्ने शब्दहरू प्रयोग गर्दै अन्तर्वार्ताहरू लिने गरेका थिए।

गत मङ्सिर २६ गते ब्युरोले अर्को युट्युब च्यानलका सञ्चालक भरतबहादुर तिरुवालाई पक्राउ गरेको थियो। उनलाई पनि ब्युरोले अश्लील शीर्षक राखेर समाजमा अश्लीलता फैलाएको आरोपमा पक्राउ गरेको थियो। 

प्रहरीले पक्राउ गर्न थालेपछि युट्युबमा प्र्याङक भिडियो बनाउनेहरूले भिडियो बनाएर केही विकृति फैलिएको हुनसक्ने भन्दै अब सुध्रिने दाबी गरेका थिए। उनीहरूले सङ्गठन बनाउने दाबी गरेका थिए।

ब्युरोका एसएसपी नवीन्द्र अर्यालले परिवारको झगडाबारे पनि अनुमति नै नलिई भिडियो खिचेर राखिदिने, व्यक्तिगत जीवनमै हस्तक्षेप गर्ने तथा प्र्याङको बहानामा अश्लील भिडियोहरू बनाएर राख्ने गरेपछि पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइएको बताए।

उनका अनुसार ब्युरोले उजुरी र आफ्नै अनुगमनमा च्यानलका सञ्चालकहरूलाई कारबाहीको दायरामा ल्याउने गरेको छ। यस अगाडि पक्राउ परेका भरतबहादुर तिरुवालविरुद्ध पीडित महिलालाई थप पीडित बनाउने गरी भिडियो बनाएर प्रसारण गरेको उजुरीपछि पक्राउ गरिएको र सोमबार पक्राउ परेका मल्ललाई ब्युरोको स्व अनुगमनमा पक्राउ गरिएको बताए। मङ्सिरमा पक्राउ परेका तिरुवा अझै प्रहरीकै हिरासतमा छन्।

'सामाजिक सञ्जालमा हेर्नै नसिकिने प्रकारका सामाग्रीहरू राख्ने अनि व्यक्तिको व्यक्तिगत अधिकारमाथि नै हस्तक्षेप गर्ने क्रम बढेकाले हामीले त्यस्ता युट्युब च्यानल सञ्चालन गर्नेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने गरेका हौँ, अर्यालले भने' कानुनी दायराभित्र बसेर जसले सामाग्री उत्पादन गरेका छन् उनीहरूलाई ब्युरोले केही गरेको छैन। तर कानुन नाघेर सामाग्री बनाउनेलाई अब स्व अनुगमन गरेर समेत कारबाहीको दायरामा ल्याउने छौँ।'

पुष १२, २०७८ सोमबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।