माओवादी महाधिवेशन: प्रतिनिधि बढे, देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्दै

माओवादी महाधिवेशन: प्रतिनिधि बढे, देव गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्दै

काठमाडौंः नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा हाल बन्द सत्र जारी छ। आज मध्यान्न १२ बजेबाट सुरु भएको बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। 

उनले ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौं राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नेछन्। यस्तै बन्द सत्रमा नेता देव गुरुङले पार्टीको विधान संशोधनको प्रस्ताव पेश गर्नेछन्। 

माओवादीले यसअघि नै राष्ट्रिय सम्मेलन आयोजना गर्ने र विधान संशोधन गर्ने बताउँदै आएको थियो। 

यस्तै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको सङ्ख्या पनि बढेको छ। यसअघि प्रतिनिधि र पर्यवेक्षक समेत गरी एक हजार ६ सय ३१ जना हुने भनिए पनि हाल बढेर एक हजार ७ सय पुगेको छ। पार्टीको स्थायी कमिटीको बैठकले १० प्रतिशत प्रतिनिधि मनोनयन गर्ने अधिकार प्रचण्डलाई दिएको थियो। 

आजको बन्द सत्रको अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, रूपा महर्जन, परशुराम रम्तेल, परशुराम तामाङ, पूर्णाकुमारी सुवेदी रहेका छन्।

पुष १२, २०७८ सोमबार १३:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।