जन्मकैदका दोषीलाई जेलर र प्रहरी जवानको योजनामा भगाइएको शङ्का, प्रहरीसँगै जेलर पनि पक्राउ

जन्मकैदका दोषीलाई जेलर र प्रहरी जवानको योजनामा भगाइएको शङ्का, प्रहरीसँगै जेलर पनि पक्राउ
जेलर परियार र फरार भएका कैदी जयराम।

दाङ : प्रेमिकाको हत्याको अभियोग प्रमाणित भएसँगै जन्मकैद सजाय पाएका कैदी जयराम परियारलाई प्रहरी  र जेलको मिलेमतोमा भगाइएको देखिएको छ।

अस्पताल लगिएका कैदीलाई घोराही कारागारका जेलर युवराज परियारले उनलाई अस्पताल जाने अनुमति दिनु र प्रहरीले हतकडी नगलाई मोटरसाइकलमा लैजानुमा भगाउने योजना रहेको देखिएको हो।

कैदी फरार प्रकरणको अनुसन्धानकोक्रममा जेलरको समेत संलग्नता देखिएपछि अनुसन्धानका लागि उनलाई आइतबार बेलुकै पक्राउ गरिएको छ।

जेलर परियार पुस ६ देखि १३ सम्म बिदा बसेका थिए। तर उनले आफू बिदामा भएको बेलामा ८ गते कार्यालयमा आएर परियारलाई अस्पताल लैजाने अनुमति दिएका थिए। यसमा मिलेमतो रहेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको हो।

जयराम परियार भनेर चिनिने यामराज परियार प्रहरीलाई छक्क्याएर भागेको भनिए पनि अनुसन्धानकोक्रममा उनी खाजा खाने क्रममा भागेको तथ्य समेत खुलेको छ।

उनी घोराहीस्थित प्याराडाइज रेस्टुरेन्टमा खाजा खान गएको सिसिटिभी फुटेजै फेला परेको छ। प्रहरीले परियार भागेको दृश्य कैद भएको फुटेज नै फेला पारेपछि यसमा उनलाई अस्पताल लैजाने प्रहरीदेखि अस्पताल लैजाने अनुमति दिने जेलरसम्मको संलग्नताको आशङ्कामा अनुसन्धान गरिरहेको थियो।

प्रारम्भमा अस्पताल लगिएको भनिए पनि उनलाई पहिला रेस्टुरेन्ट लगिएको समेत खुलेको छ। कर्तव्य ज्यान मुद्दामा जन्मकैद पाएका उनले साढे ७ वर्ष मात्र कैद भुक्तान गरेका थिए। गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेका र ५० प्रतिशत कैद भुक्तान नगरेकालाई नाइकेको जिम्मेवारी नदिने नियम भए पनि उनी घोराही कारागारमा नाइकेको भूमिकामा थिए।

परियारलाई प्रहरी जवान धनबहादुर चौधरीले आफ्नै लु ३४ प ४१० नम्बरको मोटरसाइकलमा राखेर उपचार गराउन भनेर बिहीबार बिहान ११ बजेतिर अस्पताल लगेका थिए।

तर, अस्पताल नपुग्दै उनीहरू रेस्टुरेन्टमा नास्ता खान पसेका थिए। त्यहीबाट परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लिएर भागेका थिए। प्रहरीले भने परियार अस्पतालबाट भागेको दाबी गरेको थियो।

कारागारका नाइके परियार भागेपछि कारागार प्रशासन र प्रहरीका बिचमा आरोप-प्रत्यारोप सुरु भएको थियो। प्रहरीले त्यही दिन प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले प्रहरी जवान चौधरीसहित थप तीन जना सर्वसाधारणलाई परियारलाई भगाउन भूमिका खेलेको भन्दै नियन्त्रणमा लिएको थियो।

प्रहरीले शुक्रवार मात्रै परियारले भाग्न प्रयोग गरेको मोटरसाइकल लमही बजारभन्दा केहीमाथि जङ्गलमा फेला पारेको थियो। तर परियार भने फेला परेका छैनन्।

पुष १२, २०७८ सोमबार १३:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।