७ करोड ९ लाखमा बन्यो स्वयम्भूका आँखासहितको प्रवेशद्वार

७ करोड ९ लाखमा बन्यो स्वयम्भूका आँखासहितको प्रवेशद्वार

बुटवलः बुद्धको झल्को दिने पर्यटकीय गेट भैरहवामा निर्माण भएको छ। बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा निर्माण गरिएको पर्यटकीय गेट ७ करोड ९ लाख २७ हजार ५ सय ५५ रुपैयाँको लगानीमा निर्माण सम्पन्न भएको हो।

गेटको उद्घाटन रुपन्देही क्षेत्र नम्बर- ३ का सांसद एवम् नेकपा एमालेका नेता घनश्याम भुसालले गरेका हुन्। दुई चरणमा पर्यटकीय गेट निर्माण भएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन अर्यालले बताए।

पहिलो चरणमा प्रवेशद्वारको मुख्य संरचना २ करोड ४८ लाख ९१ हजार ६ सय ३४ रुपैयाँको लागतमा र दोस्रो चरणमा अर्किटेक्चरका कामहरू ४ करोड ४८ लाख ९३ हजार ९३ रुपैयाँ र कन्टिन्जेन्सी गरी ७ करोड बढीको लागतमा गेट निर्माण भएको हो।

गेट २०७५ असार २५ गते सम्झौता भइ निर्माण सुरु भएको थियो। नेपालको चिनारीसहितको प्रवेशद्वारमा स्वयम्भूका आँखासहितको हर्मिका गजुर, स्तुपा आकार दर्शाउनका लागि डोम, त्रयोदस भुवन दर्शाउनका लागि १३ वटा रिङ, त्यस्तै १२ वटा बुद्धका मूर्तिहरू प्रवेशद्वारको दुवैतर्फ रहेको वरिष्ठ इन्जिनियर अर्यालले जानकारी दिए।

बौद्ध विज्ञहरूको सल्लाहमा चारै दिशामा १० वटा बुद्धको मूर्ति, आर्च, स्पायर गजूर, हरियाली जोन, बुद्ध झण्डाले प्रवेशद्वार सिंगारिएको छ। द्वार ५० मिटर लम्बाई, २४ मीटर चौडाई तथा सडकदेखि ३० मीटर उँचाइमा रहेको छ।

बुटवल-भैरहवा सडकको ४ लेन र सर्भिस लेनलाई विनाअवरोध हुनेगरी बनाइएको छ। प्रवशेद्वारमा भित्री भागबाट ४ लेन सडकको सवारीसाधान आवागमन हुनेछ भने सर्भिस रोडलाई गेटको दुवैतर्फबाट आवागमन हुनेगरी निर्माण भएको छ।

प्रवेशद्वारलाई रातमा आकर्षक बनाउन आर्कमा वार्म लाइटको प्रयोग भएको छ, त्यस्तै शान्ति र शून्यता जनाउनका लागि गेटमा झयाल जस्तो वारपार प्वाल वनाइएको छ। 

पुष १२, २०७८ सोमबार ०८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।