माओवादी कमजोर हुनुको कारण मै हो : प्रचण्ड

माओवादी कमजोर हुनुको कारण मै हो : प्रचण्ड

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी कमजोर हुनुको जिम्मेवारी आफैँले लिने बताएका छन्। उनले शान्ति प्रक्रियामा आएपछि कहाँ कहाँ चुक्यौँ भनेर आत्मरक्षा गर्न महाधिवेशन आयोजना गरेको भन्दै भने' सबैभन्दा धेरै आत्मसमिक्षा मेरै गरेको छु।'

उनले जनयुद्धको नेतृत्व गर्नेदेखि शान्तिप्रक्रियामा हस्ताक्षर गर्नेसम्मको नेतृत्व आफैँले गरेकाले अहिले माओवादी कमजोर झैँ देखिनुको कारण अन्त खोजेर नहुने बताए।

उनले एमाले र माओवादी केन्द्रबिचको एकता गलत नभएको भन्दै कहाँ गल्ती भयो भनेर महाधिवेशनको हलमा समीक्षा गर्ने बताए। उनले एमाले महासचिव शङ्कर पोखरेलले पार्टी एकताबारे राखेको धारणाप्रति धन्यवाद दिँदै भने' उहाँले जे भन्नुभयो त्यसमा म सहमत छु। पार्टी एकता गलत थिएन। ठुलो सपना देखेर पार्टी एकता भएको थियो। तर किन टिकेन त्यसबारे गम्भीर समीक्षा गर्न आवश्यक छ।'

उनले सम्बोधनमा कार्यक्रममा सहभागी नभएका मोहन वैद्य किरणदेखि नेत्र विक्रम चन्द विप्लवसम्मलाई सम्झिए। उनले जनतासँग पार्टीको सम्बन्ध केही लुज भएको अवस्थामा महाधिवेशन भइरहेकाले अब जनतामा फर्कँदा आत्मविश्वासका साथ फर्कन आग्रह गरे।

उनले कार्यक्रममा पटक-पटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कमरेड भन्दै सम्बोधन गरेका थिए। उनले कमरेड भन्दै भने' उहाँलाई सम्बोधन गर्दा कमरेड आइहाल्छ। पुरानो सम्बन्ध बिर्सनै सकिँदैन। बिर्सने कुरा पनि हैन।'

आफ्नो सम्बोधनकोक्रममा यादवले माओवादी सशस्त्र द्धन्द्धकोक्रममा उनी पनि भूमिगत भएका थिए। पछि उनी मधेसी जनअधिकार फोरममार्फत मधेस केन्द्रित आन्दोलनमा होमिएका थिए।

पुष ११, २०७८ आइतबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।