एमसिसीको विरोधपछि प्रधानमन्त्रीले भने : सित्तैमा आउने पैसा हो, राम्रोसँग बुझ्नुपर्‍यो क्या

एमसिसीको विरोधपछि प्रधानमन्त्रीले भने : सित्तैमा आउने पैसा हो, राम्रोसँग बुझ्नुपर्‍यो क्या

काठमाडौँ : माओवादी केन्द्रको आठौँ महाधिवेशनका केही वक्ताहरूले एमसिसीको चर्को विरोध गर्दै राम्रै ताली खाए। क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले त पूर्व माओवादीहरू एकै ठाउँमा आउने हो भने यही महाधिवेशनबाट एमसिसीको विपक्षमा निर्णय गर्नुपर्ने सर्त राखेका थिए।

अन्य वक्ताले पनि एमसिसीको विपक्षमा बोल्दा एमसिसी पारित गराउने पहल गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमै थिए। महाधिवेशनको सफलताको शुभकामना दिने पालो आएपछि उनले एमसिसीबारे भएको विरोधबारे आफ्ना धारणा नराखी बस्न सकेनन्।

माओवादी केन्द्रको महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले एक विषयमा चैँ बोल्नै पर्ने भो भन्दै'एमसिसीलाई राष्ट्रघाती हो भन्छन् तर कसरी? भन्दै प्रश्न गरे।

उनले एमसिसीलाई राष्ट्रघाती भन्नेले पढेको छ कि छैन भन्दै भने' म पनि नेपालको प्रधानमन्त्री हुँ। म किन राष्ट्र घात गरौँला ? पढ्नुस्, अध्ययन गर्नुस्।'

उनले एमसिसी नेपालको हितमा रहेको तर्क गर्दै सम्झौताबारे पढेर आफ्नो धारणा बनाउन आग्रह गर्दै भने' सित्तैमा आएको पैसा हो। चाहिन्न भन्छन्। वर्ल्ड बैङ्क लगायतकासँग ऋण लिँदा अन्तर्राष्ट्रिय कानुन लाग्छ। उसले नेपालको कानुन मान्छु भनेको छ। राम्रोसँग बुझ्नुपर्यो क्या।'

उनले एमसिसी पास हुनु देशको हितमा रहेको दोहोर्याउँदै यसबारे अन्य दलका नेताहरूसँग छलफल भइरहेको भन्दै बुझेर मात्र यसबारे प्रतिक्रिया दिन आग्रह गरे।

पुष ११, २०७८ आइतबार १८:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।