माओवादी मञ्चमा एमाले महासचिवले भने' नेकपा एकता जोगाउन नसक्दा मलाई पछुतो छ'

माओवादी मञ्चमा एमाले महासचिवले भने' नेकपा एकता जोगाउन नसक्दा मलाई पछुतो छ'

काठमाडौँ :  एमाले महासचिव शङ्कर पोखरेलले नेताहरूको व्यक्तिगत वैमनस्यताका कारण एक दलको नेता अर्को दलको नेतासँग नबोल्ने अनि नभेट्ने अवस्था आएको भन्दै यसमा सुधारको आवश्यकता रहेको बताएका छन्।

उनले नेताहरूको बिचमा भएको अन्तर कलहमा आधारित नीति बनाउँदा राष्ट्र र जनताको हित नहुने भन्दै नेकपा गठन इमानदारीताका साथ गरेको तर एकता जोगाउन नसक्दा पछुतो लाग्ने गरेको बताए।

'नेकपा समयको आवश्यकता थियो। तर हामीले एकता जोगाउन सकेनौँ। मलाई त्यसमा पछुतो छ,' उनले भने।

उनले नेकपाको एकता भङ्ग हुनुमा व्यक्तिगत स्वार्थले काम गरेको भन्दै राष्ट्रियताको प्रश्नमा अब दलहरू विभाजित हुन नहुने बताए।

उनले अधिकारका मामिलामा नेपालका दलहरू च्याम्पियन बने पनि कर्तव्यका मामिलामा कमजोर भएको बताउँदै उनले अधिकारसँगै संवृद्धि र विकासका प्रश्नमा समेत एकै ठाउँमा हुनुपर्ने बताए।

उनले नेपालका दलहरूबिच राष्ट्रिय हितको सवालमा मतभेद हुँदा निरन्तर अस्थिरता उत्पन्न भइरहेको बताए। एमाले र माओवादीले एकै आधारमा जनमत पाएको र दुवैबिचको सहकार्य टुटेपछि ' तपाइहरूले दिएको जनमत अनुसार काम गर्न सकेनौँ। हामी फेरि तपाइहरूमाझ नै आयौँ' भन्न जानुपर्ने एमालेको अवधारणा रहेको बताए।

पुष ११, २०७८ आइतबार १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।