सुरक्षा क्षेत्रमा काम गर्न नेपालीलाई सिसेल्स पठाउने तयारी, जाँदा पैसा नलाग्ने

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गणतन्त्र सिसेल्समा नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन द्विपक्षीय श्रम सम्झौताको तयारी गरेको छ। यसैका लागि मन्त्री कृष्णकुमार श्रेष्ठ र
नेपालका लागि सिसेल्सका राजदूत थोमस सेल्भी पिल्ले बिच भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा दुबैबिच नेपाल र सिसेल्सको द्विपक्षीय हित र आपसी सम्बन्धबारे छलफल भएको मन्त्रालयले जानकारी दिएको छ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदारहरू लैजान गणतन्त्र सेसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिएका थिए। नेपाली कामदारहरू सिसेल्समा वैदेशिक रोजगारीका लागि पठाउन नेपाल सकारात्मक रहेको बताउँदै उनले द्विपक्षीय श्रम समझदारी (एमओयू) का लागि तयारी अघि बढाइने बताए।
सिसेल्स हेर्ने नेपाली राजदूतावास (प्रिटोरिया) दक्षिण अफ्रिकाको राय बमोजिम जेल सुरक्षाको लागि मात्रै नभएर प्रहरी सेवा र निजी क्षेत्रमा हुने रोजगारी समेतलाई समेटेर द्विपक्षीय श्रम समझदारी अघि बढाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो।
मन्त्री श्रेष्ठले नेपालबाट वार्षिक कति कामदार लैजाने ? कस्तो खालको सीप तालिम आवश्यक पर्छ ? न्यूनतम योग्यता र भाषागत क्षमताका साथै न्यूनतम पारिश्रमिक लगायत सेवा सुविधाहरूबारे छलफल गरी द्विपक्षीय श्रम समझदारी (एमओयू) गर्न सकिने बताएका थिए।
कामदार छनोट, रोजगारी र स्वदेश फिर्ती लगायत विषयमा दुवै देशका उच्च पदाधिकारी सम्मिलित संयुक्त समिति गठन गरी टुङ्गो लगाउन उपयुक्त हुने उनको भनाइ थियो।
राजदूत पिल्लेले सिसेल्स सरकार सुरक्षा गार्ड बाहेक अन्य क्षेत्रमा पनि नेपाली कामदारहरू लैजान इच्छुक रहेको बताए। उनले खुला र उदार अर्थव्यवस्था भएको सिसेल्स नेपाली कामदारका लागि आकर्षक गन्तव्य हुनु सक्ने बताउँदै सिसेल्स जान श्रमिकले आर्थिक लगानी गर्नु नपर्ने बताए।
राजदूत पिल्लेले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठलाई सिसेल्स भ्रमणको निम्तो पनि दिएका थिए। नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ३४ वर्ष भएको छ ।
पुष ११, २०७८ आइतबार १५:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।