माओवादीमा पदाधिकारी सङ्ख्या १५ बनाइने, वरिष्ठ उपाध्यक्ष र उपमहासचिव थपियो

काठमाडौंः नेकपा माओवादी केन्द्रले १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको छ। आज बसेको केन्द्रीय कमिटीको बैठकले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारी बनाउने निर्णय गरेको हो।
नेता गिरिराजमणि पोखरेलका अनुसार अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव दुई, सचिव तीन र कोषाध्यक्ष एक जना रहनेछन्।
यसअघि नभएको वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद यसै पटकबाट थप गरिएको हो। आजबाट सुरु हुने आठौं महाधिवेशनको लागि माओवादीले पदाधिकारीका आकांक्षी व्यवस्थापन गर्न १५ सदस्यीय पदाधिकारी बनाउने गरी विधान संशोधन गरेको हो।
माओवादीको अन्तरिम विधान २०७८मा पार्टीलाई बहुपदाधिकारीमा लैजाने भनिएको थियो। यद्यपि पदाधिकारीको सङ्ख्या भने तोकिएको थिएन।
पुष ११, २०७८ आइतबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।