राष्ट्रिय सभा निर्वाचनमा १२ दलले प्रतिस्पर्धा गर्ने

काठमाडौंः आसन्न राष्ट्रिय सभा निर्वाचनमा १२ राजनीतिक दलले भाग लिने भएका छन्। निर्वाचन आयोगले आजसम्मका लागि तोकेको दल दर्ता गर्ने समावधिमा कुल १२ दल दर्ता भएसँगै यी १२ वटाले मात्र राष्ट्रिय सभा निर्वाचनमा भाग लिने भएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्माका अनुसार नौ राजनीतिक दलले सबै प्रदेशमा र तीन राजनीतिक दलले प्रदेश विशेषमा मात्र भाग लिने गरी दल दर्ता गराएका हुन्। नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल परिवार दलले सबै प्रदेशमा भाग लिने भएका छन्।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेश, नेपाल मजदुर किसान पार्टीले बागमती प्रदेश र ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले प्रदेश नं २मा मात्र भाग लिनेछन्।
राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि आगामी माघ १२ गते निर्वाचन हुनेछ। फागुन २० गतेबाट नेकपा (एमाले)का आठ, नेकपा(एस)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रिय सभा सदस्यको पदावधि सकिँदैछ। यस्तै मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि पूरा हुँदैछ।
पुष १०, २०७८ शनिबार २०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।