मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, रतुवा खोलाबाट ८ केजी गाँजासहित पक्राउ

झापाः जिल्लाको कचनकवल गाउँपालिका–२ मा दुई वटा मोटरसाइकल एकापसमा जुध्दा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा दुई जना घाइते पनि भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सोही पालिकाको वडा नम्बर ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन्। यस्तै घाइते हुनेमा २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन्। घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ।
मे४प ९५०० र डब्जु वी७४पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा दुर्घटना भएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ।
यस्तै, दमक नगरपालिका–१ स्थित रतुवा खोलाको बगरबाट आठ केजी गाँजासहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम माङसेबुङ गाउँपालिका–६ का ४६ वर्षीय वीरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताए।
उनलाई ईलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
पुष १०, २०७८ शनिबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।