कांग्रेसमा शेखरको वरियता : पदाधिकारी र पूर्वपदाधिकारी पछि

काठमाडौं : नेपाली कांग्रेसको नवनिर्वाचित कार्यसमितिमा सभापतिका प्रत्याशी शेखर कोइरालाको वरियता २० औँ नम्बरमा राखिएको छ। शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरियतामा कोइरालालाई २० औँ नम्बरमा राखिएको हो।
सभापतिमा ४० प्रतिशत मत प्राप्त गरेका कोइरालालाई वर्तमान र पूर्वपदाधिकारीपछिको वरियतामा राखिएको छ। कोइरालाले १४ औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवासँगको प्रतिस्पर्धामा ४० प्रतिशत मत पाएका थिए।
काँग्रेसम यसअघि सभापतिको निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको वरियता दिने गरिएको थियो। १० औँ महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिस्पर्धा गरेका देउवालाई तेस्रो वरियतामा राखिएको थियो। सभापतिपछि वरिष्ठ नेता कृष्णप्रसाद भट्टराई र देउवाको वरियता निर्धारण गरिएको थियो।
तर १४ ओैँ महाधिवेशनमा देउवासँगको प्रतिस्पर्धामा दोस्रो भएको शेखरलाई २० औँ नम्बरमा राखिएको छ। देउवाले शेखरलाई भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई महत्त्व दिएका छन्।
वरियतामा शेखर अब केन्द्रीय सदस्यको शीर्ष स्थानमा रहेका छन्। १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याएका शेखरको वरियता ३५ औँ नम्बरमा थियो। १४ औँमा देउवासँग प्रतिस्पर्धा गरेपछि शेखर १५ स्थानमाथि आएका छन्।
पुष १०, २०७८ शनिबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।