प्रधानमन्त्री देउवालाई भारत भ्रमणको निम्तो

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा पुस २५ गते भारत जाने भएका छन्। गत असारमा प्रधानमन्त्रीमा नियुक्त देउवा पुस २५ मा भारत जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार भारत भ्रमणका लागि प्रस्ताव आएको र मन्त्रालय तहमा अनौपचारिक छलफल सुरु भएको छ।
गुजरातको गान्धी नगरमा पुस २६-२८ मा हुने ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन देउवालाई निम्तो भने आइसकेको छ। देउवाले भ्रमणको तयारी गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिइसकेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
मन्त्रालयले भने भारत भ्रमणको औपचारिक जानकारी दिएको छैन। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भारत भ्रमणबारे अनौपचारिक छलफल भए पनि औपचारिक रूपमा अहिले निर्णय नभएको बताइन।
‘कोरोना महामारीका कारण कतिपय सभा, सम्मेलन रुद्ध भइरहेका छन्’, प्रवक्ता लम्सालले उकेरासँग भनिन्,‘अहिले नै औपचारिक रूपमा प्रधानमन्त्रीको भारत भ्रमणबारे निर्णय भएको छैन।’
पुष १०, २०७८ शनिबार ११:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।