दल दर्ताका लागि कांग्रेस आज निर्वाचन आयोग जाने

काठमाडौँ : निर्वाचन आयोगले माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ताको समय आज सकिने जनाएको छ।
पुस १ गतेदेखि १० गतेसम्म दल दर्ताको समय दिएको आयोगले शुक्रबार बेलुकीसम्म सात वटा दल मात्रै दर्ता भएको जनाएको छ।
आयोगमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चाले दल दर्ता गराएका छन्।
आयोगमा १०३ वटा दल दर्ता रहेका र राष्ट्रिय सभा चुनावका लागि सात वटा मात्रै दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।
उनले दर्ता नहुने दलले निर्वाचनमा सहभागी हुन नपाउने बताए। ‘आज राति अबेरसम्म नै दल दर्ता गर्छौ’, प्रवक्ता पौडेलले भने,‘आज दर्ता नहुने दलले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिन पाउँदैन।’
नेपाली कांग्रेसले आज आयोगमा दल दर्ता गराउने जनाएको छ।
नवनिर्वाचित केन्द्रीय समितिको आज बस्ने पहिलो बैठकले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा आजै दल दर्ताको निवेदन दिने निर्णय गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
दल दर्ताको आज अन्तिम दिन भएकाले बैठकको निर्णयसहित आजै आयोगमा जाने पौडेलले बताए। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आज दल दर्ताको निवेदन बुझाउने तयारी गरेका छन्।
आज शनिबार र क्रिसमसको सार्वजनिक बिदा भए पनि निर्वाचन आयोगको काम कारबाही जारी रहने आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।
पुष १०, २०७८ शनिबार १०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।