कम्युनिस्टलाई अर्को धारले सत्ताको भर्याङ मात्र बनाएको प्रचण्डको दुखेसो

काठमाडौँ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलन विभाजन हुँदा अर्को धारले सत्ताको भर्याङमात्र बनाएको दुखेसो पोखेका छन्।
कम्युनिस्ट पार्टीहरू विभाजित हुँदै आजको अवस्थामा आइपुगेको र क्रान्तिकारी कम्युनिस्टहरूले समाजवादको यात्रामा देशलाई अघि बढाउन सकियोस् भन्ने लागे पनि विभाजनका कारण सम्भव नभएको उनले बताए।
मसालबाट विभाजित भएको समूह र माओवादी केन्द्रबिचको एकता कार्यक्रममा सम्बोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै नयाँ समाजवादी आन्दोलनमा केन्द्रित हुने तयारी गरिएको बताउँदै अहिले पनि वर्ग सङ्घर्ष जारी रहेको बचाए।
उनले गणतन्त्र उल्ट्याउने खेल भइरहेको छ बताउँदै गत साल पुस ५ गतेबाट प्रतिक्रान्ति र प्रतिगमनको यात्रा सुरु भएको दाबी गरे।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अन्तर्संघर्ष चलेकाले संसद् विघटन भनेर गर्ने तर्क अनौठो भएको बताए। उनले जरुरी पर्यो भने ठुलो क्रान्ति गर्न तयार रहेको दाबी गर्दा प्राप्त उपलब्धि भने गुम्न नदिने दाबी गरे। उनले सेटिङ्मा सरकार चलिरहेकाले अब सेटिङ भत्किएको दाबी समेत गरे।
उनले नेपाली कांग्रेस, एकीकृत समाजवादी लगायतका दलसँग गठबन्धन बनाएर प्रतिगमन परास्त गर्न सक्षम भए पनि खतरा अझै टरि नसकेको बताए।
उनले आफूले संसद्मा आगोसँग नखेल्नु भनेको तर नमान्दा एमाले नेतृत्व बालुवाटारबाट बालकोट र ६ वटै प्रदेशमा मुख्यमन्त्री चैट भएको बताए। उनले अझै चुनावमा देखाउने भन्दै अहिले गठबन्धनका पार्टी र नेतासँग वैरभाव नभएको बताए।
उनले मोहन विक्रम सिंह हिजो पनि अभिभावक भएको र अब पनि अभिभावक बन्नुस् भनेर प्रस्ताव गर्दा छलफल गर्छौँ भनेर सकारात्मक सन्देश दिएको बताए। 'म त बेलैमा ब्युँझेर बाटो लागिहाले। अरू कम्युनिस्ट पार्टीहरू पनि ब्युँझिनुहुनेछ,' उनले कार्यक्रममा भने।
पुष ९, २०७८ शुक्रबार १५:५५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।