जन्ममिति विवादमा तानिएकी न्यायाधीश खड्काले भनिन्' बुलेटिनमा त्रुटि भएको हो,मैले सच्याएको छैन'

काठमाडौँ : जन्ममिति विवादमा तानिएकी सर्वोच्च अदालतकी न्यायाधीश मिरा खड्काले आफूले एउटा मात्र नागरिकता लिएको र जन्ममिति २०१४ जेठ २ नै भएको दाबी गरेकी छन्।
उनले विज्ञप्ति निकालेर २०३३ माघ २८ मा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकतामा उमेर १९ वर्ष भए पनि सबै शैक्षिक प्रमाणपत्र र अन्य कागजातमा जन्म मिति २०१४ जेठ २ नै उल्लेख रहेको दाबी गरेकी हुन्।
न्याय परिषद् बुलेटिनमा भने उनको फरक जन्म मिति उल्लेख थियो। उनले बुलेटिन प्रकाशित गर्ने क्रममा त्रुटि बस आफ्नो जन्म मिति २०१३ माघ २८ उल्लेख भएको विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
'एसएलसी लगायतका मेरा सम्पूर्ण शैक्षिक तहका प्रमाण पत्रहरूमा मेरो जन्म मिति विं सं २०१४ जे७ २ भन्ने नै उल्लेख भएको छ। शाखा अधिकृत पदमा न्याय सेवामा प्रवेश गरेपछि २०३९ सालमा मैले भरेको निजामती कर्मचारीको नोकरी तथा वैयक्तिक विवरण फारममा पनि मेरो जन्म मिति त्यही उल्लेख छ,' उनले भनेकी छिन्।
२०३३ माघ २८ गते जिल्ला प्रशासन कार्यालय ललितपुरबाट नागरिकता लिँदा उमेर १९ वर्ष उल्लेख गरेको र त्यो बाहेक दोस्रो प्रतिलिपि नलिएको उनले बताएकी छिन्। उनले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतका अन्य प्रमाण पत्रहरूमा समेत आफ्नो जन्म मिति २०१४ जेठ २ गते नै उल्लेख रहेको दाबी गरेकी छिन्।
उनले न्याय परिषद्को बुलेटिनमा केही वर्ष त्रुटिवश जन्म मिति फरक छापिएको तर २०७१ देखि २०७८सम्मको बुलेटिनमा आफ्नो वास्तविक जन्म मिति नै उल्लेख रहेको बताएकी छिन्। उनले आफ्नो जन्म मिति सच्याउनु पर्ने कारण नभएको र नसच्याएको विज्ञप्तिमा उल्लेख गरेकी छिन्।
पुष ९, २०७८ शुक्रबार १५:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।