प्रधानमन्त्रीलाई प्रदेश प्रमुखको गुनासो : गाडी थोत्रा भए, नयाँ चाहियो

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आएका कर्णालीका प्रदेश प्रमुख तिलक परियारले गाडी थोत्रा भएकाले नयाँ गाडी व्यवस्था गर्न माग राखेका छन्।
कर्णाली प्रदेशका समस्या सुनाउँदै उनले प्रधानमन्त्रीसँग प्रदेश प्रमुखको कार्यालयमा दुई वटा गाडी रहेको र ती पनि थोत्रा भएकाले पहाडमा जानै समस्या भएको सुनाएको जानकारी दिए।
‘प्रदेशका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराए’, परियारले उकेरासँग भने,‘गाडी र औषधी उपचारको समस्याबारे जानकारी गराए।’ सुदूरपश्चिम र कर्णाली प्रदेशको समस्या एउटै रहेको उनले बताए।
जवाफमा प्रधानमन्त्री देउवाले गाडी उपलब्ध गराउने बताउनु भएको परियारले जानकारी दिए।
हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका सात वटै प्रदेश प्रमुख मध्ये आज बागमती बाहेकका प्रदेश प्रमुखले प्रधानमन्त्री देउवालाई प्रदेशको समस्या सुनाएका हुन्।
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा भने प्रधानमन्त्री देउवासँगको छलफलमा सहभागी भएनन्।
पुष ९, २०७८ शुक्रबार ११:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।