प्रधानमन्त्री भेट्न आएका प्रदेश प्रमुख त्यसै फर्किए

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न आएका बागमती प्रदेशका प्रमुख यादव शर्मा नभेटी फर्किएका छन्। प्रधानमन्त्रीसँग भेट्ने समय नमिलेकाले त्यसै फर्किएको प्रमुख शर्माले बताए।
प्रदेशका समस्या र समाधानका योजना सुनाउन काठमाडौँ आएका प्रदेश प्रमुख शर्माले राष्ट्रपतिसँग छलफल गरे पनि प्रधानमन्त्री देउवालाई भेट्ने समय नमिलेको बताए।
बिहान ९ बजेपछि भेट्ने समय तय भएकोमा साढे १० बजेलाई सरेपछि प्रदेश प्रमुख हेटौँडा फर्किएका छन्। ‘बिहान साढे १० बजेलाई भेट्ने कुरा भएको रहेछ, प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ, ३ बजेलाई शपथ ग्रहणको कार्यक्रम छ’, उनले भने, ‘भेटेर फर्कन नभ्याइने भएकाले प्रधानमन्त्रीलाई भेट्न पाइएन, अरू प्रदेशका प्रमुखहरूले भेट्नुहुन्छ।’
बागमती प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने जानकारी आएको र ३ बजे कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुख शर्माले जानकारी दिए।
प्रधानमन्त्री देउवाको सचिवालयले छलफलको समय पछाडि सर्नुको कारण केही बताएको छैन। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्रीको आजको कार्यक्रमबारे कुनै जानकारी नै दिएनन्।
सात वटै प्रदेशका प्रमुखले हिजो बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर छलफल गरेका थिए।
राष्ट्रपतिले गरिन आग्रह
राष्ट्रपति भण्डारीले निर्यातको तुलनामा आयात धेरै भएको बताउँदै स्वदेशी उत्पादन बढाउने योजना तर्जुमा गर्न आग्रह गर्नुभएको बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले जानकारी दिए।
शर्माका अनुसार सात वटै प्रदेशका प्रमुखसँग राष्ट्रपति कार्यालयमा भएको छलफलमा हरेक प्रदेशमा भएका सम्भावनालाई उत्पादनसँग जोडेर काम गर्नु पर्नेमा राष्ट्रपतिले कुरा गरेकी थिइन। राष्ट्रपतिले देशमा पछौटेपन हटाएर आर्थिक रूपमा विकासशील राष्ट्र बनाउनुपर्ने आशयमा कुरा गरेको प्रमुख शर्माले बताए।
‘सबै प्रदेशका प्रमुखले प्रदेशका समस्याबारे राष्ट्रपतिलाई अवगत गरायौँ’,प्रमुख शर्माले उकेरासँग भने,‘आर्थिक सम्पन्नता हासिल गर्न के के गर्न सकिन्छ भनेर हामीले कुरा राख्यौ।’
उनले बागमती प्रदेशमा सीमान्तकृत समुदायलाई माथि उठाउनु पर्ने गरी काम भइरहेको बताए। बनकरिया, जिरेल, चेपाङ लगायत अरू सीमान्तकृत समुदायको शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक रूपमा माथि उठाउन काम गर्नुपर्ने आवश्यकता रहेको प्रदेश प्रमुख शर्माले बताए।
उनले बागमती प्रदेशका कतिपय उद्योग धराशायी अवस्थामा रहेको बताए। हेटौडा कपडा उद्योग चलाउने विषयमा पनि छलफल भइरहेको उनले बताए।
उनले अब फर्केर हिजोको एकात्मक प्रणालीमा जान नसकिने बताए। सङ्घीयतालाई प्रदेशले तल्लो तहमा अधिकार हस्तान्तरण गर्नुपर्ने उल्लेख गरे। उनले केन्द्र सरकारबाट कर्मचारी खटाएकोमा असन्तुष्टि जनाए।
‘अधिकार केन्द्रमा र शासन प्रदेशमा भइरहेको छ, कर्मचारीको खटन पटन केन्द्रबाटै भइरहेको छ’,उनले भने,‘प्रदेश घोडाको लगाम भइरहेको छ।’
पुष ९, २०७८ शुक्रबार १०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।