महाधिवेशनका विजेतालाई शुभकामना दिँदै पौडेलले भने, राजनीतिक यात्रा जारी छ 

महाधिवेशनका विजेतालाई शुभकामना दिँदै पौडेलले भने, राजनीतिक यात्रा जारी छ 

काठमाडौँ : नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मतदान बहिष्कार गरेका नेता रामचन्द्र पौडेलले आफ्नो राजनीतिक यात्रा जारी रहेको बताएका छन्।

साथीहरूले ‘रामचन्द्रजीले अब पार्टीभित्रको चुनाव लड्नु हुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेको र त्यस निर्णयप्रति इमानदार रहन मतदानबाटै अलग रहेको पौडेलले उल्लेख गरेका छन्।  

उनले बिहीबार विज्ञप्ति निकालेर मतदानबाट अलग बस्नु राजनीतिक यात्रामा विश्राम नभएको प्रस्टीकरण दिएका छन्। ‘राजनीतिक यात्रामा विश्राम होइन, केही क्षणको अल्पविराम मात्र हो’, पौडेलले लेखेका छन्,‘मेरो राजनीतिक यात्रा जारी छ र अविच्छिन्न अगाडि बढिरहने मेरो सङ्कल्प रहिरहनेछ।’ 

पौडेल कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गरेपछि महाधिवेशन स्थलमा उपस्थित भएनन्। संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवारमा सहमति नभएपछि पौडेलले मतदान नै बहिष्कार गरेका थिए। 

महाधिवेशनबाट निर्वाचित सबै साथीहरुलाई बधाई दिँदै पौडेलले व्यक्तित्वको पहिचान सुखमा हैन, दुखमा र पराजयका बखत हुने उल्लेख गरेका छन्। 

उनले आफू जुनसुकै अवस्थामा रहे पनि राष्ट्रमा स्थायित्व, सुशासन, विकास र समतामूलक समाज निर्माणको लागि प्रयास जारी राख्ने विज्ञप्तिमा लेखेका छन्। 

पुष ८, २०७८ बिहीबार २३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।