जन्मकैद पाएका जेल नाइके प्रहरीकै मोटरसाइकल लिएर भागे

जन्मकैद पाएका जेल नाइके प्रहरीकै मोटरसाइकल लिएर भागे

दाङ : दाङमा जन्मकैद सजाए भुक्तानी गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल लिएर भागेका छन्। घोराही कारागारमा जन्मकैद सजाय भोगी रहेका राजपुर गाउँपालिकाका कैदी जयराम परियार प्रहरीकै लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका हुन्।

परियारले आफू बिरामी भएको बताएपछि घोराही कारागारका जेलरकै अनुमतिमा जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान धनबहादुर चौधरीले उनलाई उपचारका लागि प्रहरीको बाइकमा राखेर अस्पताल लगेका थिए।

घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि चौधरीले परियारलाई मोटरसाइकलको पछाडि हालेर अस्पताल लगेका थिए। उपचारकै क्रममा प्रहरीकै मोटरसाइकलसहित कैद भागेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए।

कारागारमा प्रहरी र सशस्त्र दुवै हुने भए पनि कैदीलाई उपचार गर्न प्रहरीले नै लैजाने गरेको छ। प्रहरी जवानले परियारलाई हतकडी नलगाई आफै मोटरसाइकलमा हालेर अस्पताल लगेका थिए।

उपचारका लागि बिहान साढे १० बजे प्रहरी जवान चौधरीले कैदीलाई अस्पताल पुर्याएका थिए। कैदी प्रहरीकै मोटरसाइकलसहित भागेको बेलुकी ४ बजे मात्रै जिल्ला प्रहरी कार्यालय दाङले खबर पाएको थियो। कैदी भाग्नुमा प्रहरी जवान चौधरीको समेत मिलेमतो हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ।

एसपी काफ्लेले जिल्लाको सबै नाका बन्द गरेर भागेका कैदीको खोजी भइरहेको बताए। दाङ जिल्ला अदालतले ज्यान मार्ने कसुरमा परियारलाई २० वर्ष कैदको सजायको फैसला गरेकोमा उनले ७ वर्ष कैद भुक्तानी गरेको र १३ वर्ष कैद भुक्तान गर्न बाँकी छ। कैदी भगाएको आरोपमा प्रहरी जवान चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थुनुवा कक्षमा राखेर अनुसन्धान सुरु गरेको एसपी काफ्लेले बताए ।

पुष ८, २०७८ बिहीबार २२:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।